काठमाडौं/२२ पुस – ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा संशोधन सरोकारवाला सबैले माग गरेपछि विधेयक पारित हुने विषय पेचिलो बनेको छ । विधेयक संशोधन गर्न १ सय ५२ जना सांसदले प्रस्ताव दर्ता गराएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चोरबाटोबाट सुटुक्क प्रतिनिधिसभामा पेस गरेको सो विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाएपछि सरोकारवाला सबै निकायसँग छलफल शुरु गरेको छ ।
एक सातादेखि जारी छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षक महासंघ, विभिन्न तहका शिक्षक संघ संगठन, गाउँपालिका संघ र नगरपालिका महासंघ, प्याब्सन, सरकारी विद्यालयका कर्मचारीलगायत सरोकारवाला निकायसँग छलफल गरेर मात्र विधेयक दर्ता गराउने बताउनुभएको थियो ।
सोही आधारमा समितिले मन्त्री, शिक्षा सचिव सुरेश अधिकारी लगायतसँग छलफल गरेको छ। सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षा विधेयकमा शिक्षक महासंघले ६१ बुँदे असहमति दर्ता गरेको छ ।
महासंघले विधेयकको परिभाषा नै परिवर्तन गर्नेदेखि संविधानको अनुसूचीनै संशोधन गर्नुपर्नेसम्मको प्रस्ताव गरेको छ । शिक्षक महासंघले पद समायोजन, कारबाही, बढुवा, सरुवा गर्ने अधिकार स्थानीय तहबाट हटाएर संघलाई दिनेसम्मको संशोधन दर्ता गराएका छन् ।
महासंघले शिक्षक काउन्सिल, पद समायोजनलगायत विषय विधेयकमा समेट्नुपर्ने माग समितिमा पेस गरेको छ । महासंघका अध्यक्ष कमला तुलाधरले विधेयक संशोधन नगरे आन्दोलनमा जानेसम्मको चेतावनी दिनुभएको थियो ।
शिक्षक र शिक्षा मन्त्रालयबीच असोज ३ गते भएको सम्झौताअनुसार शिक्षा कानुन बन्नुपर्ने माग महासंघको छ । प्रारम्भिक बालकक्षादेखि कक्षा ८ सम्मलाई आधारभूत शिक्षामा राख्नुपर्ने, आधारभूत तहको मात्रै अनुमति स्थानीय तहले र माध्यमिक तह जिल्ला शिक्षा कार्यालयको सिफारिसमा प्रदेशले दिनुपर्ने व्यवस्थासहितको कानुन बनाउनुपर्ने माग छ ।
महासंघले जिल्ला शिक्षा कार्यालयको अधिकारलाई फराकिलो बनाउनुपर्ने धारणा राखेको छ । अध्यक्ष तुलाधरले शिक्षकको माग पूरा गर्न सरकारले संविधान संशोधन गर्न समेत तयार हुनुपर्ने धारणा राख्नुभएको थियो ।
शिक्षक कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन, लामो बिदाको स्वीकृृति, विभागीय कारबाही र शिक्षक किताबखानासँग सम्बन्धित निवृत्तिभरण गर्न पनि जिल्ला शिक्षा कार्यालयबाट हुनुपर्ने माग राखेका छन् ।
छलफलमा राहत शिक्षकले दफा ४३ र ४४ मा विद्यालय शिक्षक सेवाको पदपूर्तिसम्बन्धी समावेश भएको विषयमा संशोधन गर्न माग गरेको छ । शिक्षक दरबन्दी मिलान तथा हस्तान्तरण सम्बन्धी र अन्तर्गत समावेश गरिएको दरबन्दीमा परिणत हुँदा सेवा अवधि शतप्रतिशत जोडिनुपर्नेलगायतका संशोधन प्रस्ताव पेश गरेको छ ।
स्थानीय तहमा हस्तान्तरण भएका शिक्षकको पाउने उपदान, निवृत्तिभरण, उपचारखर्च, सञ्चित बिदाको रकम सरकारले व्यहोर्ने, स्थायी शिक्षकको शतप्रतिशत र अस्थायी वा करारमा स्वीकृत दरबन्दीमा रही स्थायी भएकोमा वा राहत अनुदान कोटाको शिक्षक स्थायी भएकोमा सो अवधिको पचास प्रतिशत सेवा अवधि जोड्नुपर्ने माग छ ।
राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटा दरबन्दीमा कायम भएपछि हुने, विज्ञापनमा राहत तथा विशेष शिक्षामा कार्यरतलाई उमेर हद नलाग्ने, दरबन्दी कायम भएको राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारमा पचास प्रतिशत कार्यरतमध्येबाट सीमित र बाँकी पचास प्रतिशत खुला प्रतियोगिताको आधारमा पदपूर्ति गर्ने व्यवस्था गर्नुपर्ने, कक्षा ११ र १२ अध्यापन गर्ने शिक्षकलाई माध्यमिक तृतीय वा द्वितीय श्रेणीमा उम्मेदवार हुन सक्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ। राहत शिक्षकले संशोधन सहितको बुँदा समितिमा पेस गरेको छ ।
विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले विद्यालयमा कर्मचारीमा देखिएको समाधान हुने गरी विधेयक संशोधन गर्न माग गरेको छ । विद्यालय कर्मचारीलाई पुग्ने तलब भत्ता र दरबन्दीको व्यवस्था गरिदिन समितिले आग्रह गरेको छ ।
नगरपालिका र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले शिक्षकले उठाएको मागको बारेमा छलफल गर्न तयार रहेको जनाएका छन् । महासंघले समितिमा छलफलको क्रममा सो धारणा राखेका थिए। त्यसका लागि मन्त्रालयलाई आग्रह गरेका छन् ।
नेपाल नगरपालिकाका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले विधेयकमा असहमति जनाएको दफामा छलफल गर्न शिक्षक महासंघ र आफूलाई राख्न मन्त्रालयलाई आग्रह गर्नुभएको थियो ।
समितिमा बोल्ने सांसदहरुले सरकारी सुविधा लिएका कर्मचारी र शिक्षकलाई आफ्नो छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पठाउनुपर्ने व्यवस्था गर्न माग गरेका थिए ।
विधेयकमा सबैको सरोकारवाला निकायको धारणा सकिएपछि विधेयक संशोधनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो अधिवेशनमा विधेयक पारित गर्ने बताएपछि समितिले विधेयकको दफावार छलफल शुरु गरेको हो ।
सरोकारवालाले विधेयकको प्रस्तावनादेखि अनुसूचीसम्म संशोधन गर्नुपर्ने प्रस्ताव दर्ता गराएका थिए । समितिले आज आइतबार निजी विद्यालयको छाता संगठन, प्याब्सन, राष्ट्रिय प्याब्सनलगायत निजी विद्यालयका निकायसँग छलफल गर्ने भएको छ । ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा लेखेका छन् ।



