काठमाडौँ /२० पुस – नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले विद्यालय शिक्षा विधेयक २०८० को मस्यौदा सङ्घीयता र तहगत सरकारका एकल अधिकारहरूलाई बेवास्ता गरी ल्याइएको भन्दै नाम परिवर्तन गर्नुपर्ने सुझाब दिएका छन् । प्रस्तावित नामबाट ऐन आएमा स्थानीय तहको एकल अधिकारमा ठाडो हस्तक्षेप हुने भन्दै प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहिवार भएको बैठकमा नाम परिवर्तन गर्न सुझाब दिएका हुन् ।
प्रस्तुत विधेयक सङ्घीयता र तहगत सरकारका एकल अधिकारहरूलाई बेवास्ता गरी ल्याइएको छ । जुन कुरा यसको नामबाट नै प्रस्ट हुन्छ । यस ऐनको नाम “विद्यालय शिक्षाको मापदण्ड सम्बन्धी सङ्घीय ऐन, २०८०” राख्नु पर्छ । अन्यथा प्रस्तावित नामबाट यो ऐन आएमा स्थानीय तहको एकल अधिकारमा ठाडो हस्तक्षेप हुनेछ जसको निराकरणको लागि संवैधानिक इजलासले गर्नु पर्ने छ सुझाबमा उल्लेख छ ।
त्यसैगरी विद्यालय शिक्षा सम्बन्धित कानुन शिक्षक केन्द्रित भएर बनाउने कि विद्यार्थी केन्द्रीय भएर बनाउने भन्ने नै अहिलेको मूल चुनौती भएकोले यसलाई ख्याल गर्न संघ र महासङ्घले समितिमा राखेका छन् । उनिहरूले यदि शिक्षक केन्द्रित भएर बनाइन्छ भने यस विधेयकबाट शिक्षकका विषयलाई निकालेर निजामती सेवा ऐन जसरी बेग्लै शिक्षक सेवा ऐन ल्याउँदा हुने समेत बताएका छन् ।
साथै नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले सुझाबसँगै विधेयकमा संशोधन हुनुपर्ने विषयहरू तीन महलमा तयार गरी माननीयहरूलाई उपलब्ध गराएको समेत जानकारी गराएका थिए ।
यस्ताछन् समितिमा पेस गरेका सुझाब :
१. प्रस्तुत विधेयक सङ्घीयता र तहगत सरकारका एकल अधिकारहरूलाई बेवास्ता गरी ल्याइएको छ । जुन कुरा यसको नामबाट नै प्रस्ट हुन्छ । यस ऐनको नाम “विद्यालय शिक्षाको मापदण्ड सम्बन्धी सङ्घीय ऐन, २०८०” राख्नु पर्छ । अन्यथा प्रस्तावित नामबाट यो ऐन आएमा स्थानीय तहको एकल अधिकारमा ठाडो हस्तक्षेप हुनेछ जसको निराकरणको लागि संवैधानिक इजलासले गर्नु पर्ने छ ।
२. हामीले खोजीरहेको सङ्घीय शिक्षा ऐन हो । तर स्थानीय सरकारको एकल अधिकारमा रहेको विद्यालय शिक्षा विधेयक आएको छ ।
३. यस विधेयकले संविधान त स्थानीय सरकारमा रहेको विधायिकी अधिकारलाई हस्तक्षेप गरेको छ ।
४. माथि उल्लिखित तहगत सरकारका भूमिकालाई यस कानुनमा व्यवस्थित गर्न प्रस्तावित व्यवस्थामा व्यापक परिमार्जन आवश्यक छ ।
५.संविधानमा भएको व्यवस्थाको कार्यान्वयन गर्नु तीन तहकै सरकारको दायित्व हो ।
६. विद्यालय शिक्षा सम्बन्धित कानुन शिक्षक केन्द्रित भएर बनाउने कि विद्यार्थी केन्द्रीय भएर बनाउने भन्ने नै अहिलेको मूल चुनौती हो ।
७. यदि शिक्षक केन्द्रित भएर बनाइन्छ भने यस विधेयकबाट शिक्षकका विषयलाई निकालेर निजामती सेवा ऐन जसरी बेग्लै शिक्षक सेवा ऐन ल्याउँदा हुन्छ ।
८. शिक्षा, निजामती र प्रहरी समायोजन ऐन यी तीन वटै कानुन कर्मचारीसँग सम्बन्धित भएर पनि यी कानुन आउन ढिला भैरहेको छ । कतै प्रशासनिक सङ्घीयताको कार्यान्वयनमा भैरहेको ढिला सुस्ती र उल्झनको कारण सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण बन्दै त छैन भन्ने आशँका हामीमा रहेको छ ।
९. निजामती कर्मचारी समायोजन हुँदा अहिलेसम्म पनि शिक्षक समायोजन गर्न नसक्नु सङ्घीय सरकारको कमजोरी हो ।
१०. कर्मचारी (शिक्षक) हरूले जनप्रतिनिधिहरूको अवमूल्यन गर्ने, योग्यतामा प्रश्न गर्ने, प्रणालीलाई नै चुनौती दिने, विगतमा सरकारले संविधानका व्यवस्था विपरीत भएका सहमति र सम्झौता जस्ता कारणहरूले यो विधेयक संविधान र सङ्घीयता कार्यान्वयनको मूल स्पिरिट भन्दा बाहिर जादैन भन्ने विश्वास हामीले लिएका छौँ ।
११. उपरोक्त बमोजिम विधेयकमा संशोधन हुनुपर्ने विषयहरू तीन महलमा नै तयार गरी माननीयज्यूहरूलाई उपलब्ध गराएका छौँ ।



