कास्की/१९ पुस – पोखरा विश्वविद्यालय र दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालयबिच शैक्षिक एवम् अनुसन्धान सम्बन्ध स्थापित गर्ने उद्देश्यले सम्झौता भएको छ । पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका उपकुलपति प्रा।पुनम टण्डनले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
दुबै संस्थालाई शैक्षिक र अनुसन्धान सम्बन्ध स्थापित गर्नुका साथै संयुक्त अनुसन्धान तथा सम्मेलन लगायत अन्य शैक्षिक सहकार्यको दिशामा अगाडि बढ्न बाटो खुलेको बताएका छन् । यस समझदारीपछि दुई विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूबिच शैक्षिक, व्यावसायिक र संस्कृति गतिविधिहरूलाई सहयोग गरी अन्तर्राष्ट्रिय सम्झौता, बौद्धिक सहयोग, सांस्कृतिक अन्तरक्रिया र मित्रता प्रवर्धन गर्न सहयोग पुग्ने समझदारी पत्रमा उल्लेख गरिएको छ । साथै कुनै पनि कार्यक्रम दुबैतर्फ वाञ्छनीय र सम्भाव्य महसुस भएमा एकआपसमा प्रस्ताव गरी दुबै पक्षले आयोजना गर्न सक्नेछन् ।
सम्झौता समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका उपकुलपति प्रा. पुनम टण्डन र अन्तर्राष्ट्रिय सेलका निर्देशक डा। रामवन्त गुप्ता एवम् पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक डा। उमेशसिंह यादवले आ–आफ्नो संस्थाको परिचयसहित शैक्षिक एवम् अनुसन्धान क्रियाकलापलाई कसरी प्रगाढ र सुदृढ गर्न सकिन्छ भन्ने विषयमा बोलेका थिए ।



