बाँके/१६ पुस – मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध मुद्दा दायर भएको छ । बाँके जिल्ला नरैनापुर गाउँपालिका वडा नं. २ स्थित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापक कलिम अहमद जोलाह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँ उपर मुद्दा दायर भएको हो ।
अख्तियार अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको जनाएको छ । प्रधानाध्यापकले विभिन्न आर्थिक वर्षमा तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक लगायतका शीर्षकमा साविक जिल्ला शिक्षा कार्यालय, बाँकेबाट निकासा भएको रकम सम्बन्धित शीर्षकमा खर्च नगरी हिनामिना गरेको आरोप छ ।
उनले जिल्ला शिक्षा कार्यालय, बाँकेबाट आ.व. २०७०/०७१ देखि आ.व. २०७४/०७५ सम्म शिक्षक तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, विद्यालय फर्निचर र भवन निर्माण शीर्षकमा निकासा भएको तथा मदरसाका तत्कालीन प्रधानाध्यापक कलिम अहमद जोलाहको नाममा लेखापरीक्षण प्रतिवेदनले पेश्की बेरुजु औंल्याएको रकमसमेत खर्च नगरी आफुखुशी खर्च गरेको आयोगले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँसँग मिलेमतो गरी अठार लाख तीन हजार सात सय एकचालीस रुपैयाँ रकम आफूखुशी खर्च गरेको र तत्कालीन प्रधानाध्यापकको हैसियतले आफ्नो जिम्मामा रहेका सक्कल कागजातहरु बरबुझारथ नगरी लुकाएको अनुसन्धानबाट खुलेको विज्ञप्तिमा उल्लेख छ ।
कलिम अहमद जोलाह र बदरुददुजा खाँलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा बिगो अठार लाख तीन हजार सात सय एकचालीस रुपैयाँ भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र बिगोसमेत असुल उपर हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ मा उल्लेख भएबमोजिम कैद र जरिवाना गरी पाउन समेत मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।



