अनुदानमा स्कुल बसका लागि प्रस्ताव माग, (यस्ता छन् प्रस्ताव पेस गर्ने आधार)

काठमाडौँ /१६ पुस – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समायोजन गरी कायम भएका ठूला विद्यालयलाई स्कुल बस व्यवस्थापन गर्न अनुदानका लागि प्रस्ताव माग गरेको छ । आर्थिक वर्ष २०८०/०८१ का लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम विद्यालय समायोजन गरी कायम भएका ठूला विद्यालयलाई स्कुल बस व्यवस्थापनका लागि अनुदान उपलब्ध गराउने कार्यक्रम भएकाले प्रस्ताव प्रस्ताव माग गरेको हो ।


आधार पुगेका इच्छुक विद्यालयहरूले स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइको सिफारिस सहित यही पुस मसान्तभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आइपुग्नेगरी प्रस्ताव पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।


साथै गत आर्थिक वर्ष बस व्यवस्थापन अनुदानका लागि केन्द्रमा प्राप्त प्रस्तावहरू यथावत राखिएको हुनाले ती विद्यालयहरूले पुनः प्रस्ताव पेस गर्नुनपर्ने तर पेस गरेका विवरणहरू (विद्यार्थी सङ्ख्या, समायोजन भएका विद्यालय सङ्ख्या कक्षा ११ र १२ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान विषय अध्यापन भएको मोटरवाटोको अवस्था) मा कुनै संशोधन भएमा तोकिएको समयसीमाभित्रै अद्यावधिक गर्नुहुन समेत केन्द्रले आग्रह गरेको छ ।


प्रस्ताव पेस गर्ने विद्यालयका आधारहरू :
(१) सामुदायिक विद्यालयको रूपमा अनुमति वा स्वीकृति प्राप्त गरी नियमित रूपमा कक्षा १२ सम्म सञ्चालन भएको विद्यालय हुनुपर्नेछ ।


(२) विद्यालयमा नियमानुसार विद्यालय व्यवस्थापन समिति गठन भएको हुनुपर्नेछ ।


(३) शैक्षिक सत्र २०७७/२०७८/२०७९/२०८० भित्र दुई वा सोभन्दा बढी विद्यालयहरू एक आपसमा समायोजन वा मर्ज भई हाल तराइ क्षेत्रमा कम्तीमा १८०० पहाडमा १२०० र हिमालमा ६०० विद्यार्थी अध्ययनरत भएको विद्यालय हुनुपर्नेछ ।


(४) विद्यालयमा बाह्रै महिना सजिलोसँग आवतजावत गर्न मिल्ने भरपर्दो बाटो भएको हुनुपर्नेछ ।


(५) बस सञ्चालनका लागि फ्युल मर्मत तथा चालक र सहचालकको खर्च विद्यालय आफैले वा स्थानीय तहले व्यहोर्ने प्रतिवद्धता हुनुपर्नेछ ।


(६) नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागबाट जारी भएको स्कुल बस निर्देशिका २०७४ मा भएको व्यवस्था पालन गर्ने प्रतिबद्धता सहित स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइबाट सिफारिस भएको हुनुपर्नेछ ।


(७) गत आ.व. र चालू आ.व. मा प्रदेश सरकार वा स्थानीय सरकारबाट बस व्यवस्थापनका लागि सहयोग लिइसकेका विद्यालयहरू बाहेकका विद्यालय हुनुपर्नेछ र प्रस्तावको ढाँचा लगायत अन्य विवरण केन्द्रको वेबसाइट www.cehrd.gov.np मा हेर्न सकिनेछ ।