शिक्षक सेवा आयोग : यसरी गर्नुहोस परीक्षाको तयारी

काठमाडौँ /२६ मंसिर – शिक्षक सेवा आयोगले शिक्षक पदपूर्तिका लागि वार्षिक कार्यतालिका अनुसार विज्ञापन गर्ने गरेको छ । आयोगले विभिन्न तह र श्रेणी तथा अध्यापन अनुमतिपत्रको वार्षिक तालिका अनुसार परीक्षा सञ्चालन गर्ने गर्छ ।


अहिले धेरै व्याक्तिहरू शिक्षक सेवा आयोगले लिने परीक्षाको तयारी गरिरहनु भएको छ । शिक्षक सेवा आयोगले मंसिर १२ गते मंगलबार सार्वजनिक गरेको निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजामा धेरै विद्यार्थीहरू पास हुन सकेनन् । यस सवालमा अध्यापन अनुमति पत्रमा मात्रै होइन अन्य विषयगत परीक्षामा पनि आवेदन खुलेको सङ्ख्या भन्दा कम परीक्षार्थी पास हुने गरेको समस्या छदैछ । यसका लागि आयोगको जुनसुकै परीक्षामा सहभागी हुनका लागि राम्रो तयारीको खाँचो हुन्छ ।


यसरी शिक्षक सेवा आयोग लगायत अरू आयोगबाट लिइने परीक्षाको तयारी कसरी गर्न सकिन्छ भन्ने विषयमा खबर एजुकेशनले विज्ञहरूका सुझाब अनुसार तयार पारेका टिप्स यस्ता छन् ।


१. मनस्थिति तयार गर्ने :


परीक्षार्थीले सबै भन्दा पहिला आफू शिक्षक सेवा आयोग, संस्थान, लोकसेवा आयोग, प्रदेश लोक सेवा आयोग, स्थानीय तह कुनमा जाने हो त्यस बारे प्रस्ट हुन आवश्यक छ । साथै आफू जान चाहेको क्षेत्र बारे राम्रोसँग बुझेर त्यसै अनुसार मनस्थिति बनाई पढ्नु पर्छ । जता नाम निस्कन्छ त्यतै जान्छु भने परीक्षाको तयारी गर्दा सफल नभइन सकिन्छ । त्यसकार क्षेत्र निर्धारण गरेर तयारी गर्नु उत्तम हुन्छ ।


२. धेरै तनाव नलिने :


परीक्षाको तयारी गर्दै गर्दा परीक्षाका बारेमा धेरै सोचेर तनाव लिनु हुँदैन । यसरी बढी तनाब लिएर दबाबमा अध्ययन गर्दा आफूले पढेको कुरा पनि बिर्सन सकिन्छ ।


३. तयारी गर्ने पाठ्यक्रम राम्रोसँग पढ्ने :


आफू जान चाहेको तह र क्षेत्रका बारेमा आयोगले निर्धारण गरेका पाठ्यक्रम र पाठ्यक्रमको परीक्षा योजना, पाठ्यक्रमको ढाँचा, विषय क्षेत्रका बारेमा स्पष्ट हुनुपर्छ । पाठ्यक्रमले निर्धारण गरेको ढाँचामा पढ्दा अध्ययन सामाग्री खोज्न सजिलो हुन्छ ।


४. पाठ्यक्रम अनुसार नेपाल सरकारबाट प्रकाशित भएका सामाग्री ऐन, नियमावली, निर्देशिका, कार्यविधि, नियमावली लगायतका विषयमा जानकारी लिनु पर्छ ।


५. पत्रपत्रिका, सूचना, कार्यक्रमहरू, आर्थिक सर्वेक्षण, आवधिक योजनाहरू, सरकारबाट प्रकाशित भएका पुस्तकहरू (कहिलेकाहीँ सरकारबाट प्रकाशित नभएका पनि हुन सक्छन् तर सरकारबाट मान्यता प्राप्त गरेका) अध्ययन गर्ने ।


६. अपडेट भएका सामाग्रीहरू, तथ्यांक, सूचनाहरूका बारेमा परीक्षार्थी अपडेट भइरहने । साथै पाठ्यक्रमका आधारमा सामाग्री अध्ययन गरेर नोट बनाउने ।


७. जुन क्षेत्रमा परीक्षा दिने हो त्यसको नियममा रहेर परीक्षाको तयारी गर्ने । आफै नमुना प्रश्न पत्र निर्माण गरी अभ्यास गर्ने । लिखित परीक्षा सम्बन्धी सामान्य परीक्षा र विषयगत परीक्षा सम्बन्धी स्पष्ट हुने ।


८. प्रश्नको उत्तर खोज्दा प्रश्न के सोध्यो भन्दा पनि प्रश्न कहाँबाट सोध्यो भन्ने कुराको एकिन गर्ने । किनकी नेपाल सरकारबाट प्रकाशित भएका वा सरकारबाट मान्यता प्राप्त सामाग्रीहरूमा एउटै कुरा फरक फरक हुन सक्छ । जस्तै : माध्यमिक शिक्षाका सवालमा ऐनमा साधारण, संस्कृत र प्राविधिक तथा व्यवसायीक शिक्षा छ भने राष्ट्रिय पाठ्यक्रम प्रारूपमा परम्परागत, साधारण र प्राविधिक तथा व्यवसायीक शिक्षा उल्लेख गरेको पाइन्छ । त्यसकारण प्रश्न के सोध्यो भन्दा पनि प्रश्न कहाँबाट सोध्यो भन्ने कुराको बारेमा परीक्षार्थीले एकिन गर्नु पर्छ ।


९. विषय क्षेत्र, पूर्णाङ्क, उत्तीर्णाङ्क, प्रश्नपत्र, परीक्षा प्रणाली र समयको बारेमा एकिन गर्ने ।


१०. आयोगबाट सोधिने प्रश्नहरूको एकिन गरी समय विभाजन गर्ने, परीक्षार्थीहरूको उत्तर पुस्तिका कम्प्युटरको माध्यमबाट चेक गरिने हुँदा एन्सर सिटको नियम अनुसार उत्तर लेख्ने । आयोगबाट सोधिएका प्रश्नहरूको टिपोट गरी समय व्यवस्थापन गरी उत्तर लेख्ने अभ्यास गर्ने ।


११. विश्लेषणात्मक उत्तर लेख्दा शिष्ट, मर्यादित, सुधारका विकल्पहरू, कार्यान्वयन गर्न सकिने खालका उत्तर लेख्ने । तर, लेखाईलाई सिलसिलाबद्ध, प्रस्ट, सफा र स्पष्ट देखिने गरी जवाफ दिनु पर्छ ।