सुर्खेत / ७ मङ्सिर – मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित २१औं शताब्दीमा विश्वविद्यालयको स्वायत्तता तथा भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहको अध्यक्षतामा र कर्णाली प्रदेश तथा जिल्ला स्थित विभिन्न राजनैतिक पार्टीका मूल नेतृत्व एवं प्रतिनिधिहरु, वीरेन्द्रनगर नगरपालिकाका पुर्व मेयर, सुर्खेत शिक्षा क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा पुर्व जिसस सभापति लगायत विभिन्न सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रमसँगै पुर्व विश्वविद्यालयका पदाधिकारी तथा अतिथिहरु सम्मिलित संयुक्त टोलीले मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय परिसर, ग्र्याजुएट स्कुल अफ इञ्जिनियरिङ्ग (सानो सुर्खेत), ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी, मुसोम, ग्र्याजुएट स्कुल अफ एजुकेशन, ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेस र ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टको भ्रमण तथा पछिल्लो समय भएको विकास र परिवर्तनको अवलोकन गरेका थिए ।
कार्यक्रममा विभिन्न राजनैतिक पार्टीका मूल नेतृत्व, नागरिक समाजका अगुवा एवं विशिष्ट व्यक्तित्वहरुले आफ्नो भनाई राखेका थिए । उनिहरुले विश्वविद्यालयले गरेका विकासका कार्य तथा पछिल्ला सकारात्मक प्रयासहरुको प्रशंसा गर्दै विश्वविद्यालयको स्वायत्तता कायम रहनुपर्ने, सकारात्मक कार्यको सबैले साथ् दिनुपर्ने तथा विश्वविद्यालयमा भईरहेको राजनीतिक हस्तक्षेप र बन्द हड्ताल जस्ता गतिबिधि बन्द हुनुपर्ने कुरामा जोड् दिएका थिए ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहले सबै मिलेर विश्वविद्यालयको हितका लागिसँगै अगाडि बढ्नु पर्ने कुरामा जोड दिए ।



