काठमाडौं / ७ मंसिर – नेपालको सन्दर्भमा कुनै शैक्षिक निकायको सेवा प्रवाहमा सुधार गर्न धेरै काम गर्नु पर्ने हुनसक्छ । तत्काल र दीर्घकालमा गर्नुपर्ने कामको सूची लामो बन्न सक्छ । पहिचान गरिएका सबै काम एकै पटकमा गर्न नसकिने पनि हुनसक्छ । साथै ठूलो काम गर्न समय लाग्न पनि सक्छ । साना साना काम गर्दै गए पछि ठूलो काम हुने हो । यस्ता साना काममध्ये शैक्षिक संस्थाको परिसर सफा सुग्घर राख्ने, परिसरमा सम्भव भए सम्मको फूल एवम् बिरुवा लगाउने र शौचालय सफा राख्ने केही उदाहरण हुनसक्छन् । यस लेखमा यीनै विषयमा चर्चा गर्न खोजिएको छ ।
शुरूमा सफा शौचालयको चर्चा गरौँ । एकछिन केही प्रश्नका बारेमा सोचौँ । कुनै काम विशेषले सार्वजनिक निकायमा जाँदा तहाँको शौचालय कस्तो पाउनु भएको छ ? के शौचालयमा पानीको व्यवस्था छ ? के तहाँको शौचालय सफा नहुनुमा बजेट नभएरै हो त ? कि पदाधिकारीको चाहना नभएर हो ? साँच्चै शैक्षिक संस्थाका शौचालय सफा राख्न के गर्नु पर्ला ? बजेट नै नभएर हो भने एउटा निकायमा भएका दुई चार ओटा शौचालय सफा राख्न कति बजेट चाहिएला ? शौचालय रहेको भवनभित्र ठूला ठूला सेमिनार भइरहेका हुनसक्छन् । सुधारका ठूला ठूला बहस भइरहेका हुनसक्छन् । मुलुक विकासका कुरा भइरहेका हुन सक्छन् । तर तहाँको शौचालय आहा भन्ने नहुन सक्छ । आखिर किन यस्तो ? यसमा अझ अचम्म लाग्दो त के देखिन्छ भने शौचालयको अवस्था किन यस्तो ? यसको जिम्मा लिने पदाधिकारी सायदै भेटिएला । अरूलाइ देखाएर उम्कन पाइने अवस्था भएपछि हुने यस्तै हो ।
ठूला ठूला कामको चर्चा भइरहेको समयमा एउटा शौचालय सफा गर्ने विषय कुन ठूलो भयो र ? के शौचालय सफा राख्ने काम पनि पदाधिकारीको हो र ? सबै काम माथिबाट नै हेर्नु पर्ने ? हो हामी कहाँ सफा शौचालय कसैको पनि एजेन्डामा परेको छैन् । ठुला काम हेर्नेले शौचालय पनि हेर्न सक्छ र ? यो त हुदै गर्छ नि भन्न पनि सकिएला ? यहाँ मूल विषय अरू काम र शौचालय सफा गर्ने कामको बीचमा तुलना गरेर कुन काम पहिला गर्ने भन्ने होइन । जसरी व्यक्तिलाई पर्सनल हाइजिनको आवश्यकता पर्दछ, ठिक त्यही आवश्यकता शैक्षिक संस्थाको हकमा पनि लागु हुन्छ । जसरी अरू काममा खर्च नगरेर पनि औषधीमा खर्च गर्नुपर्छ । शौचालय सफा गर्ने विषय पनि यही विषय जस्तै हो । यसो भनेर शौचालयमात्र सफा गरेर मात्र बसौँ, अनि संस्थाका अन्य महत्वपूर्ण काम नगरौँ भन्ने पनि होइन । शैक्षिक संस्थाले आफ्ना आवश्यकताका सबै काम गर्नै पर्छ । शौचालय सफा राख्ने विषय अरू काम हुन नसक्दा पनि प्राथमिकतामा पर्नुपर्छ । यसलाई सबै निकाय र व्यक्तिले पहिलो प्राथमिकतामा राख्नुपर्छ ।
एकछिनलाई हाम्रो बुझाइको चर्चा गरौँ । मुलुकमा यतिबेला धेरैको ध्यान ठूला पूर्वाधारमै छ, भौतिक संरचना बनाउनमा छ । शैक्षिक संस्थाका लागि भौतिक पूर्वाधार चाहिन्छ नै । भौतिक पूर्वाधार नभए पनि हुन्छ भन्ने तर्क गर्न खोजिएको होइन । सामान्यतया शैक्षिक संस्थाका भौतिक पूर्वाधारका लागि ठूलै स्रोतको आवश्यकता पर्छ, साथै समय पनि लाग्नसक्छ । यसका लागि आवश्यक स्रोत खोजी गर्दै जानु पर्ने पनि हुनसक्छ । संरचना बनाए पछि शौचालय जस्ता साना मसिना विषयमा ध्यान दिउला भन्ने पनि हुनसक्छ । शुरूमा भौतिक पूर्वाधार बनाउँ, तानतुन गरेर भएको स्रोत लगाउँ । जब यो काम सकिन्छ, अनि शौचालय एवम् सरसफाइमा ध्यान दिउला भन्ने हुन पनि सक्छ । गार्डेनिङ्का बारेमा सोचौला भन्ने पनि हुनसक्छ ।
शैक्षिक संस्थाले भौतिक पूर्वाधारकै नाममा आफूसँग भएको सानो मात्रामा भए पनि सबै स्रोत लगाउनु त्यति बुद्धिमतापूर्ण निर्णय नहुन सक्छ । भौतिक पूर्वाधारको कामका लागि स्रोत खोज्दै गर्दा पनि आफूसँग भएको ससानो रकमबाट हुन सक्ने अत्यावश्यक साना साना कामहरू गर्दै जानु पर्छ । यस्ता काममध्ये शौचालय सुधार र सफा पहिलो प्राथमिकतामा पर्नुपर्छ । शैक्षिक संस्थालाई सफा र हरियालीयुक्त बनाउनु पर्छ । यसरी गरिने साना र मसिना कामबाट आउने सुधारको असर वास्तवमै ठूलो हुनसक्छ । साथै सुधारका साना कामहरू थोरै रकमबाट हुनसक्छन्, जस्को दीर्घकालीन महत्वसमेत हुन्छ । शैक्षिक संस्था स्वयम् वा अन्य निकायसँगको सहकार्यमा यस्ता साना काम गर्न सकिन्छ ।
शैक्षिक संस्थाको परिसरमा रूख, फुल बिरुवा लगाउने र हरियाली कायम गर्ने काम पनि शौचालय सफा गर्नेजस्तै अर्को सानो र मसिनो काम हो । यस्ता मसिना कामका लागि बजेट नभएर रोकिने भन्ने नहुनु पर्ने हो । भएकै बजेटलाई व्यवस्थापन गरेर पनि गर्न सकिने हुनसक्छ । यसका लागि नेतृत्वमा इच्छाशक्ति र तदारुकता चाहिन्छ । सानोतिनो रकमबाट हुने ढंगबाट यस्ता काम गर्ने सोच बनाएर अगाडि बढ्नुपर्छ ।
सुधारका ठूला कुरा गर्ने बेलामा के यति सानो कुरा गरेको भन्ने पनि हुनसक्छ । शैक्षिक संस्था मर्ज गर्ने, थप भौतिक संरचना निर्माण गर्ने, शिक्षक एवम् जनशक्ति थप गर्ने, आइसिटी पूर्वाधार निर्माण गर्ने, भर्चुअल रूपमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने भन्ने जस्ता विषय उठाउनु पर्नेमा यति साना विषय उठान गर्ने हो भन्ने पनि हुनसक्छ । होइन, एक पटक सानै कुरा गरेर हेरौँ न । यदि सबै शैक्षिक संस्थाले शौचालय सफा राख्ने र सम्भव भएसम्म परिसरमा फुल बिरुवा लगाएर देखाउने हो भने तहाँको नेतृत्वलाई अहिले पनि आम नेपालीले धन्यवाद दिन्छन । साधुवाद भन्छन । सेवाग्राहीले संस्था र पदाधिकारीलाई मनमनै सम्मान गर्छन् । किनकी यी विषयहरू पर्सनल हाइजिनजस्तै महत्वपूर्ण हुन्छन् । जसरी संसार प्रसिद्धि हुने वा विश्व द्बिग्वीजय गर्नेका लागि पनि पर्सनल हाइजिन चाहिन्छ नै । त्यसैगरी सबै शैक्षिक संस्थाका लागि पनि सफा शौचालय चाहन्छ । यसका धेरै फाइदाहरू छन् । शौचालय सफा र परिसर सफा एवम् हरियालीयुक्त बनाउने काम सबैको प्राथमिकतामा पर्नुपर्छ । यो नै सफा शैक्षिक संस्थाको पहिचान हुनसक्छ ।
सफा शैक्षिक संस्था बनाउनका लागि देहायका साना कामहरू गर्न सके उपयुक्त हुनसक्छ ।
१. अहिले शैक्षिक संस्थाहरूले आफै सरसफाइ गर्न वा फुल बिरुवा लगाउन नसक्न सक्छन् । यस अवस्थामा यस्ता शैक्षिक संस्थाले निजी क्षेत्रका सेवा प्रदायकहरूसँग सेवा करार गरी सेवा लिन सक्छन् ।
२. विद्यालयको शौचालय सरसफाइका लागि पालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयहरूलाई विभिन्न क्लस्टरमा बाड्न सक्छ वा समूहीकृत गर्नसक्छ । यस्तो समूह भौगोलिक अवस्था एवम् अन्य पक्षहरूलाई हेरेर बनाउन सकिन्छ । प्रत्येक क्लस्टर भित्रका विद्यालयहरूको शौचालय सरसफाइका लागि निजी सेवा प्रदायकको सेवा करारमा लिन सकिन्छ । कुनै पालिकाभित्र के कति ओटा सरसफाइ सेवा प्रदायक संस्था आवश्यक पर्छ भनेर एकिन गर्नका लागि एउटा क्लस्टरमा कति ओटा विद्यालय र शौचालय पर्छन् भन्ने विषयले निर्धारण गर्दछ । एउटा सेवा प्रदायक कम्पनीले एक भन्दा बढी क्लस्टरका विद्यालयहरूको शौचालय सफा गर्न पनि सक्छ ।
३. पालिकाले विज्ञापन गरेर प्रतिस्पर्धाको आधारमा सरसफाइ सेवा प्रदायक कम्पनीहरू छनौट गर्नसक्छ । यस्ता कम्पनीसँग १ वर्षको लागि वा एकभन्दा बढि अवधिका लागि सेवा करार लिने व्यवस्था गर्न सकिन्छ होला ।
४. शैक्षिक संस्थाको गार्डेनिङ् र सामान्य सरसफाइका लागि सहकार्य गर्न सकिन्छ । तर उपकरण लाग्ने र ठुला खालका फोहर सङ्कलन र व्यवस्थापन गर्ने काम निजी क्षेत्रका सेवा प्रदायकहरूबाट नै गराउन उपयुक्त हुन्छ ।
५. शैक्षिक संस्थामा स्वच्छ पिउने पानीका लागि अभिभावक, पालिका एवम् प्रदेश सरकारबाट मिलाउन सकिन्छ । यसका लागि हालकै अनुदानको प्रयोग पनि हुनसक्छ ।
६. यस्तो काम शैक्षिक संस्था र स्थानीय पालिकाले सहकार्यमा पनि गर्न सक्छन् । माथिका कार्यहरू गर्दा शुरुवाती लागत केही बढ्ने भए पनि यसबाट शैक्षिक संस्था सफा हुने विद्यार्थीहरूलाई शौचालय सुविधा सहज हुने, छात्राहरूमा हाल रहेको मनोवैज्ञानिक त्रास (शौचालय सफा नभएका कारणवाट) घट्ने, शौचालयकै कारण कम पानी पिउनु पर्ने वाध्यताबाट मुक्त हुने र स्थानीय तहमा केही मात्रामा भए पनि रोजगारी सृजना हुने देखिन्छ । सफा शैक्षिक संस्था भन्ने अवधारणाले स्थानीय तहको साख र प्रतिष्ठा बढाउन पनि सहयोग पुग्नेछ । यसबाट पालिकामा नयाँ संस्कृतिको विकास गर्नमा पनि सहयोग पुग्छ ।
सफा शैक्षिक संस्थाको अवधारणासँग जोडिएको अर्को महत्वपूर्ण विषय शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूको स्वस्थ परीक्षण गर्ने विषय पनि हो । यसको महत्व विद्यालय तहमा अझ बढि हुन सक्छ । किनकी यस तहमा अध्ययनरत बालबालिकाहरूको स्वस्थ सेवामा पहुँच कम नै छ । सके सबै शैक्षिक संस्थामा र सो सम्भव नभएमा विद्यालय तहमा भए पनि स्वस्थ परीक्षण कार्य लैजान सके यसले बालबालिकाहरूको स्वास्थ र शिक्षामा सकारात्मक प्रभाव पार्ने निश्चित छ । यसका लागि देहायका उपायहरू अवलम्बन गर्न सकिन्छ ।
७. प्रत्येक शैक्षिक संस्थाले नजिकको स्वस्थ सेवा प्रदायक संस्थासँग मिलेर नियमित रूपमा स्वस्थ शिविर सञ्चालन गर्न सक्छ । मेडिकल कलेज तथा ठूला सरकारी अस्पतालसँग सहकार्य गर्नसक्छ । कतिपय अवस्थामा सेवा प्रदायकहरूको सामाजिक दायित्वभित्रैबाट पनि सम्बोधन हुनसक्छ । कतिपय अवस्थामा सहकार्यको ढाँचा पनि अवलम्बन गर्न सकिन्छ ।
८. विद्यालय तहका बालबालिकाहरूको स्वस्थ परीक्षण गर्ने कार्यमा पालिकाले अग्रसरता लिनसक्छ र लिनु पनि पर्छ होला । पालिका भित्र रहेका विद्यालयमा अध्ययनरत बालबालिकाको कम्तीमा पनि ३ महिनाको एक पटक स्वस्थ चेक अप वा हेल्थस्क्रिनिङ् गर्न सकिन्छ । यसका लागि देहायको प्रक्रिया उपयुक्त हुनसक्छ ।
९. पालिकालाई माथि भनिएझै विभिन्न क्लस्टरमा बाड्न सकिन्छ । यस्तो क्लस्टर बनाउँदा पालिका भित्र रहेका हेल्थ पोस्ट, प्राथमिक स्वस्थ उपचार केन्द्र, अस्पताल आदिलाई ध्यानमा राखेर गर्नु उपयुक्त हुन्छ ।
१०. एउटा क्लस्टर भित्रका विद्यालयहरूमा कुन कुन समयमा स्वस्थ परीक्षण गर्ने भनि समय तालिका निर्माण गर्नुपर्छ । यस कार्यलाई सहजिकरण गर्नका लागि उक्त क्लस्टर भित्रका शिक्षकलाई अभिमुखीकरण गर्न सकिन्छ । उनीहरूको सहयोग लिन सकिन्छ ।
११. क्लस्टर भित्रका स्वास्थ्य संस्थामा कार्यरत जनशक्ति र पालिकाले आवश्यकताअनुसार लिएका स्वयमलाई परिचालन गर्ने कार्यतालिका बनाएर उक्त समय तालिका बमोजिम विद्यालयमा गएर वा स्वास्थ्य संस्थामा बोलाएर हेल्थस्क्रिनिङ् गर्न गराउन सकिन्छ ।
१२. पालिकाले यस्ता कार्यमा नयाँ जनशक्ति ल्याउने भन्दा पनि भएका जनशक्ति परिचालन गरेर गर्नुपर्छ । विद्यालय वरिपरिका छिमेकी वा अन्यलाई उक्त समयमा स्वयम् सेवाको लागि आह्वान गर्न सकिन्छ ।
१३. विद्यालयमा स्वास्थ्य परीक्षणका कार्यलाई पालिका भित्रका स्वास्थ्य संस्था र विद्यालयको समन्वय र सहकार्य एवम् पालिकाको नियमनमा हुने व्यवस्था गर्नुपर्छ ।
१४. हाल सञ्चालनमा रहेको एक विद्यालय एक नर्सअन्तर्गत विद्यालय नर्सलाई स्वास्थ्य संस्थामा बस्ने व्यवस्था मिलाइ क्लस्टर भित्रका विद्यालयहरूमा सेवा पु¥याउने ढंगबाट समेत परिचालन गर्न सकिन्छ । यसो गर्दा एउटा नर्सको घुम्ती सेवाबाट धेरै विद्यालयका विद्यार्थीहरू लाभान्वित हुने अवसर पाउँछन् ।
१५. हालका स्वास्थ्य संस्थाका जनशक्तिलाई र विद्यालयका जनशक्तिलाई समेत परिचालन गर्ने र यसका लागि सम्भव भएसम्म विद्यालयको स्रोत परिचालन गर्नुपर्छ । यसमा प्रदेश सरकारसँग समेत अनुरोध गर्न सकिन्छ ।
१६. बालबालिकाको हेल्थ स्क्रिनिङ् कार्यलाई थप व्यवस्थित गर्न प्रत्येक क्लस्टरमा सर्व पक्षीय समन्वय समिति बनाउन सकिन्छ ।
निष्कर्ष
शिक्षाका ठूला ठूला समस्या र सोको समाधानका लागि काम गर्नुपर्ने बेलामा शौचालय सफा गर्ने एवम् शैक्षिक संस्थामा गार्डेनिङ गर्ने जस्ता काममा समय खर्च गर्ने हो र भन्ने लाग्न सक्छ । यस्ता साना र मसिना कामबाट सुधार हुन्छ र ? भन्ने जस्ता प्रश्न पनि हुन सक्छन् । जसरी व्यक्तिको पहिचान र व्यक्तित्व निजको घरको भान्छा र बाथरुमको सफाइबाट झल्कन्छ, ठिक त्यसैगरी शैक्षिक संस्थाको हैसियत पनि यसको सफापन र हराभरापनबाट देखिन्छ । शैक्षिक संस्थाको सफा परिसर, सम्भव भए सम्मका रुख बिरुवा आदिले वातावरण सकारात्मक बन्न सहयोग पुग्न सक्छ । अहिले सार्वजनिक निकायहरूले खेप्ने आलोचना भनेको शौचालयको दुर्गन्ध नै हो । फोहर अवस्था हो । अव्यवस्था हो । परिसर सफा गर्ने र शौचालय सफा गर्ने कार्यले सुधारको शुरूवाती लक्षण देखाउन थाल्छ । शैक्षिक संस्थाप्रति अभिभावक एवम् सरोकारवालाहरूको विश्वास जाग्न सक्छ । अनि विद्यार्थीहरूले शौचालय जान डराउनु पर्दैन । पेटभर पानी पिउ भन्न सकिन्छ । यसबाट अभिभावक पनि ढुक्क हुन सक्छन । यसरी थोरै रकमको सानो कामबाट ठूलो र दीर्घकालीन रूपमा सकारात्मक असर देखिन शुरू हुनसक्छ ।
डा.हरि प्रसाद लम्साल, पिएचडी । लेखक सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका का.मु.प्रमुख सचिव हुनुहुन्छ । यस लेखमा व्यक्त विचार लेखकका निजी विचार हुन ।



