काठमाडौँ /१७ असोज – काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन संकाय अन्तर्गत रहेको सिपिईसि विभागले ‘सामाजिक अध्ययन शिक्षणका लागि नविन शैक्षिक दृष्टिकोण’ विषयमा दुई दिने कार्यशाला सम्पन्न गरेको छ । काठमाडौँका विभिन्न विद्यालयबाट सामाजिक विषय अध्यापन गराउने शिक्षकहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो ।
सामाजिक अध्ययन शिक्षा द्रुत गतिमा परिवर्तन भइरहेको अवस्थामा बालबालिकाको सिकाई, बुझाईमा पर्न आएका चुनौतीलाई नवीन शैक्षिक दृष्टिकोण र विधि अपनाएर चुनौती मुक्त बनाउन सकिन्छ भन्ने विषयमा कार्यशाला केन्द्रीत रहेको थियो । साथै विद्यार्थीलाई कक्षा कोठामा, परीक्षामा र उसले प्राप्त गर्ने नतिजा सम्मलाई मध्यनजर गरेर यस विषयलाई शिक्षकले सामाजिक शिक्षाको अध्ययन अध्यापन चुनौती मुक्त बनाउनु नै कार्यशाला आयोजनाको उदेश्य रहेको थियो ।
बालबालिकाको प्रयोगात्मक शिक्षा, टेक्नोलोजी एकीकरण, विषयवस्तु एकीकृत शिक्षा, विश्वव्यापी परिप्रेक्ष्यको ज्ञान र आलोचनात्मक सोच कौशलको विकासमा महत्वपूर्ण भूमिका निभाउने हुनाले यस विषयको ज्ञानको महत्वलाई विशेष जोड दिनुपर्ने पाठ्यक्रम विकास केन्द्रका हेमराज खतिवडाले जानकारी दिए ।
२१ औँ शताब्दीमा सामाजिक अध्ययनलाई प्रभावकारी रूपमा सिकाउनु भनेको बालबालिकाहरूमा सिर्जनशीलता र आलोचनात्मक कौशलको विकास गर्नु नै कार्यक्रमको उदेश्य रहेकाले कार्यशालाको आयोजना गरिएको विश्वविद्यालयले जनाएको छ । यसका लागि शिक्षकहरूले प्रयोगात्मक शिक्षा, टेक्नोलोजी एकीकरण विषय एकीकृत ज्ञान, विश्वव्यापी परिप्रेक्ष्य, सिर्जनात्मक अनि आलोचनात्मक कौशल र विधिहरू अँगाल्नुपर्ने र जसले गर्दा सामाजिक अध्ययन प्रति विद्यार्थीहरूको रुचि बढ्ने विश्वविद्यालयको निष्कर्ष छ ।



