चन्द्रागिरि नगरपालिका : सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि सम्झौता

काठमाडौँ /१३ असोज-चन्द्रागिरी नगरपालिका, काठमाडौँ र इसिइसि इनोभेसन इन एजुकेसन, ललितपुरबिच पहिलो वर्ष ६ वटा सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको छ । चन्द्रागिरि नगरपालिकाका तर्फबाट नगर प्रमुख घनश्याम गिरी र इसिइसिका तर्फबाट अनुसन्धान तथा विकास विभागका विभागीय प्रमुख तथा नोर्हेड परियोजना संयोजक मिना कार्की सुब्बाबिच सम्झौता भएको हो ।


सम्झौता पछि इसिइसि इनोभेसन इन एजुकेसनका तर्फबाट अनुसन्धान तथा विकास विभागका विभागीय प्रमुख तथा नोर्हेड परियोजना संयोजक मिना कार्की सुब्बाले यस परियोजना कार्यक्रम शैक्षिक सुधार र नमुना विद्यालय निर्माणका लागि महत्वपूर्ण हुने बताउँदै परियोजनाको उदेश्य तथा कार्यक्रमहरूको बारेमा प्रकाश पारेकी थिईन । उनले यस परियोजना कार्यक्रम अन्तर्गत शिक्षक तथा अभिभावकहरूको क्षमता अभिवृद्धि गर्नुका साथै शिक्षकहरू खेल विधि र विद्यार्थी केन्द्रित विधि मार्फत शिक्षण गर्न सक्षम हुने र यसको परिणाम स्वरूप विद्यार्थीहरूको चौतर्फी विकासमा मदत पुर्‍याउने बताइन ।


यस परियोजना कार्यक्रममा नगरपालिकाको तर्फबाट भौतिक पूर्वाधार तथा शैक्षिक सामग्री व्यवस्थापनमा बजेट विनियोजन गर्ने र इसिइसिका तर्फबाट शिक्षक क्षमता अभिवृद्धि तालिम, अभिभावक सचेतना कार्यक्रम, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनिधिहरूका लागि नेतृत्व विकास तालिम, अन्तर्राष्ट्रिय बाल विकास कार्यक्रमको सहजकर्ता तालिम तथा शैक्षिक सुधारमा लागि निरन्तर अनुगमन, परामर्श तथा सहायता गर्ने आदि कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।
यस सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले नगरपालिका एउटा शैक्षिक हबको रूपमा विकास गर्ने योजना रहेको बताउँदै सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीहरूको विश्वसनीयता घट्दै गएको अवस्थामा यस कार्यक्रमले नगरपालिका भित्रका विद्यालयमा शैक्षिक उपलब्धि सुधार हुने र विद्यालयको प्रशासनिक व्यवस्थापनमा पनि महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा र विश्वास रहेको बताए । पहिलो चरणमा छनोट हुने विद्यालयहरूले राम्रो परिवर्तन गरे बाँकी सबै सामुदायिक विद्यालयहरू समेट्दै जाने उनको भनाई थियो ।


उक्त कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर उपप्रमुख वसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कर्ण बहादुर भुवाजी, वरिष्ठ विद्यालय निरीक्षक बुद्धि प्रसाद भट्ट, सामाजिक शाखाका अधिकृत अनिता पौडेल तथा अन्य प्रतिनिधिहरूका साथै इसिइसिका तर्फबाट अनुसन्धान तथा विकास विभागका विभागीय प्रमुख तथा नोर्हेड परियोजना संयोजक मिना कार्की सुब्बा, अनुसन्धान तथा विकास विभागीय उपप्रमुख सिङ्गीथिकेपा ल्होमी, शिक्षक तालिम तथा विकासका विभागीय उपप्रमुख सुमीन महर्जन, वरिष्ठ शिक्षक प्रशिक्षकहरू विमला महर्जन र हिरामान तामाङको उपस्थिति रहेको थियो ।