काठमाडौँ /१२ असोज – आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबिच वार्ता सुरु भएको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा अहिले मन्त्रालयमा वार्ता भइरहेको हो ।
शिक्षामन्त्री अशोक कुमार राई, राज्यमन्त्री, सहसचिव डा. हरि प्रसाद लम्साल र नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी, नेपाल बालविकास शिक्षक केन्द्रीय समितिका अध्यक्ष कृष्णकुमारी थापा सहित नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदी, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी र एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी सहितको सहभागितामा वार्ता भइरहेको छ ।

यस भन्दा अगाडीका दिनहरूमा पनि वार्ता भएपनि हिजो शिक्षा मन्त्रालयले पत्र पठाएपछि आज औपचारिक छलफल गरेर निकास निकाल्ने तयारी मन्त्रालय रहेको जनाएको छ ।
नेपाल शिक्षक महासङ्घको असोज ५ गते सरकारसँग ६ बुँदे सम्झौता भएपछि नेपाल राहत शिक्षक केन्द्रीय समिति, नेपाल बालविकास शिक्षक केन्द्रीय समिति,पेन्सन वञ्चित शिक्षक केन्द्रीय समितिर सामुदायिक विद्यालय कर्मचारी संघले महासङ्घले धोका दिएको भन्दै सडक आन्दोलन गर्दै आएका छन् ।




