काठमाडौँ /११ असोज-नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले निजामती कर्मचारीका छोराछोरीका सामुदायिक विद्यालयमा पढाउनु पर्ने बताएका छन् । सरकारले लगानी गरेका सामुदायिक विद्यालयमा पढाउन बाध्यकारी गरेरै भएपनि पढाउनु पर्ने बताएका हुन् ।
आफ्ना छोराछोरीले पनि सामुदायिक विद्यालयमा नै पढेको बताउँदै यो सवाल महत्वपूर्ण रहेको र कर्मचारीले नपढाए कसले पढाउने भन्दै यसलाई कार्यान्वयन गर्न आफूहरू लाग्ने बताए ।
त्यसैगरी सङ्घीय निजामती ऐन ७ वर्षदेखि सरकारले अड्काएर राखेकोले त्यसलाई छिटो ल्याउनु पर्ने बताए । कर्मचारीका पेसागत माग र मुद्दा ओझेलमा परेको बताउँदै यसलाई छिटो ल्याउनुपर्ने उनको भनाई छ ।
सरकारले पेसाकर्मीहरूलाई हतोत्साहीत गरेर ऐन ल्याउन खोजेको आरोप लगाउँदै कर्मचारीहरूलाई हेपेर ल्याए शिक्षकहरूले गरेको आन्दोलन भन्दा पनि कडा विरोधमा उत्रने बताए । उनले भने ‘हिजो अस्ति शिक्षकहरूले गरेको आन्दोलन, जुन काठमाडौँमा आँधीबेरी सिर्जना गरे र पेसागत माग धरै हदसम्म सम्बोधन गर्न सफल भए त्यति मात्रै नभई देश ठप्प बनाउँछौँ ।’
उनले शिक्षक महासङ्घले गरेको आन्दोलनलाई समेत आफूहरूले समर्थन गरेको र प्रेस विज्ञप्ति जारी गरेको जानकारी दिँदै आन्दोलन ऐतिहासिक र निकै महत्वको रहेको बताए । शिक्षकहरूको आन्दोलनबाट सबज सिकेर निजामती ऐनमा जबरजस्ती नगर्न चेतावनी दिए ।



