राहत शिक्षकको आन्दोलन : महासङ्घको नेतृत्वमा वार्तामा आउन आग्रह

काठमाडौँ/१० असोज – राहत शिक्षकहरूको आन्दोलन माइतीघर मण्डलामा आक्रमण बन्दै गइरहेको बेला राहत शिक्षकहरूको सवालमा नेपाल शिक्षक महासङ्घ शिक्षा मन्त्रालयसँग छलफलमा बसेको छ । राहत शिक्षकहरूका असहमतिहरूलाई वार्ताबाटै निकास निकाल्नु पर्ने भन्दै आज बिहान शिक्षा मन्त्रालयसँग छलफलमा बसेको हो ।


शिक्षा मन्त्रालयले नेपाल शिक्षक महासङ्घको नेतृत्वमा वार्तामा आउन आग्रह गरेपनि राहत शिक्षक लगायत आन्दोलनरत शिक्षकहरूले अस्वीकार गर्दै आएका छन् । साथै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा राहत शिक्षकहरू वार्तामा आउनुपर्ने महासङ्घकी अध्यक्ष कमला तुलाधरले बताएकी छन् ।


यता नेपाल राहत शिक्षक केन्द्रीय समितिको नेतृत्वमा बालविकासका शिक्षक, पेन्सन बन्चित शिक्षक लगायत आफ्ना माग राख्र्दै सडक आन्दोलन गरिरहेका छन् । सरकारसँग सम्झौता गर्दा नेपाल शिक्षक महासङ्घले धोका दिएको राहत शिक्षकहरूको आरोप छ ।


नेपाल शिक्षक महासङ्घको असोज ५ गते सरकारसँग ६ बुँदे सम्झौता भएपछि असन्तुष्ट रहेको नेपाल राहत शिक्षक केन्द्रीय समितिसँग आन्दोलनका बारेमा त्यस यता कुनै छलफल र कुराकानी समेत भएको छैन ।