शिक्षक महासंघले भन्यो : विधेयकमा धोका भयो, काठमाडौं केन्द्रित सडक आन्दोलन गर्छौ

काठमाडौं/२७ भदौं-नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक २०८० मा शिक्षकहरुलाई धोका दिएको भन्दै काठमाडौं केन्द्रीत आन्दोलनमा जाने चतावनी दिएको छ । सरकारसँग छलफल, संवाद र लगातारका थुप्रै भेटघाट तथा पक्षीकरण पछि पनि केही झिना मसिना विषयवस्तु बाहेक पुरानो मस्यौदामा कुनै परिवर्तन नगरी सरकारले विधेयकको रुपमा त्यसलाई संसदमा दर्ता गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।


विज्ञप्तिमा भनिएको छ ‘यस घटना मार्फत् राज्यले फेरि एक पटक नेपाली शिक्षक–कर्मचारीलाई धोका दिएको छ । त्यसैले नेपाली शिक्षक कर्मचारी अहिले अत्यन्त आक्रोशित भएका छन् । अब ने. शि. महासङ्घ समक्ष काठमाडौं केन्द्रित निर्णायक सडक आन्दोलनमा जानु बाहेक कुनै विकल्प बाँकी रहेको छैन ।’


यस्तो छ विज्ञप्ति :


नेपाल सरकारले २०८० भाद्र २७ गते विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसद सचिवालयमा दर्ता गराएको छ । यस सम्बन्धी पुरानो मस्यौदा सार्वजनिक भएपछि ने.शि. महासङ्घले परिमार्जन गर्नुपर्ने विषयहरु उल्लेख गरी लिखित सुझाव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गरेको थियो । प्रस्तावित मस्यौदामा ती सुझाव समावेश गर्ने प्रयोजनकालागि माननीय उपप्रधानमन्त्रीको संयोजकत्वमा माननीय शिक्षा मन्त्री, मुख्य सचिव शिक्षा सचिव, कानुन सचिव र अर्थ सचिव लगायत रहेको कार्यदल र ने.शि.महासङ्घको प्रतिनिधिमण्डल बीच छलफल समेत भएको हो ।


यस्तो छलफल, संवाद र लगातारका थुप्रै भेटघाट तथा पक्षीकरण पछि पनि केही झिना मसिना विषयवस्तु बाहेक पुरानो मस्यौदामा कुनै परिवर्तन नगरी सरकारले विधेयकको रुपमा त्यसलाई संसदमा दर्ता गरेको छ । यस घटना मार्फत् राज्यले फेरि एक पटक नेपाली शिक्षक–कर्मचारीलाई धोका दिएको छ । त्यसैले नेपाली शिक्षक कर्मचारी अहिले अत्यन्त आक्रोशित भएका छन् । अब ने. शि. महासङ्घ समक्ष काठमाडौं केन्द्रित निर्णायक सडक आन्दोलनमा जानु बाहेक कुनै विकल्प बाँकी रहेको छैन ।


विद्यालय शिक्षा सम्बन्धी यस विधेयकले विगतमा शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय र ने.शि. महासङ्घ बीच भएका सहमती तथा आम नेपाली शिक्षक कर्मचारीका मागमुद्दा सम्बोधन नगरे काठमाडौं केन्द्रित निर्णायक सडक आन्दोलन गर्ने निर्णय नेपाल शिक्षक महासङ्घले यस अघि नै गरी सकेको छ ।


सोही निर्णय वमोजिम २०५० भाद्र २८ गते बस्ने ने. शि. महासङ्घ आन्दोलन परिचालन समितिको बैठकले सबै सरोकार समूह बीचको छलफलबाट आन्दोलनको कार्यक्रम तालिका तयार गरी सार्वजनिक गर्नेछ । त्यसैले देश भरिका सबै विद्यालय ठप्प पारी सङ्घीय राजधानी काठमाडौंमा हुने सडक आन्दोलनमा सहभागी हुन तयार रहन ने.शि. महासङ्घ र यसका आवद्ध ÷ सम्बद्ध संस्थाका सबै संरचना एवम् सबै नेपाली शिक्षक कर्मचारी साथीहरुमा अनुरोध गरिन्छ ।