विद्यालय शिक्षा विधेयकमा राहत शिक्षकको असहमति, आन्दोलनको तयारी

काठमाडौं/२७ भदौं-राहत शिक्षकहरुले विद्यालय शिक्षा विधेयक २०८० ले राहत शिक्षकको पेसागत भविस्य माथी कुठाराघात गरेको भन्दै असहमति जनाएको छ । अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गरेको सामान्य नजिर सम्मलाई पनि हेक्का नराखी संसदमा दर्ता गरेर सार्वजनिक गरिएकोमा असहमति जनाएको हो ।


नेपाल राहत शिक्षक केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै भनेको छ ‘आज मिति २०८०/०५/२७ गते विद्यालय शिक्षा ऐन संसदमा दर्ता नं. ८) भए संगै औपचारिक रुपमा विधेयक अध्ययन गर्दा हाल सम्म अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गरेको सामान्य नजिर सम्मलाई पनि हेक्का नराखी सामुदायिक विद्यालय, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ध्वस्त पार्ने मनसायले देशभर कार्यरत ४० हजार राहत शिक्षकको पेसागत भविस्य माथी कुठाराघात गर्ने गरि सिमित शैक्षिक माफियाहरुको झुण्डले यो विधेयक तयार गरेको हो भन्ने हाम्रो निष्कर्ष छ ।’


साथै संसदमा दर्ता भएको विधेयकले देशभरका सामुदायिक विद्यालयमा कार्यरत स्थायी, अस्थायी राहत, करार, वालविकास, साविक उच्च मावि शिक्षक सिकाई अनुदान, छुट अस्थायी करार, पेन्सन वञ्चित शिक्षक, प्राविधिक धार लगायत कसैको पनि अपेक्षित माग सम्बोधन नभएकोले शसक्त सडक आन्दोलन गर्ने चेतावनी दिएको छ । सम्पूर्ण राहत शिक्षकलाईहरु आन्दोलनको लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ ।


आन्दोलनले उत्पन्न हुने जुनसुकै परिस्थिीको लागि शिक्षा मन्त्रालय जिम्मवार हुने विज्ञप्तिमा उल्लेख छ ।