काठमाडौँ /२४ भादौं-अहिलेको बदलिँदो विश्व बजारमा व्यक्तिलाई अद्यावधिक गराई राख्नका लागि पाठ्यक्रमलाई पनि समय सान्दर्भिक परिमार्जन र परिवर्तन गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ । २१औं शताब्दीमा शिक्षकहरु नयाँ नयाँ सूचना तथा प्रविधिसँग खेल्न सक्नु पर्दछ र शिक्षण सिकाइको माध्यमबाट विविध क्षमता भएका विद्यार्थीका रुची र आवश्यकतालाई सम्बोधन गर्न सक्नु पर्दछ ।
कक्षा कोठाको व्यवस्थापन, शिक्षकका लागि तालिम, प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धि पाठ्यक्रम तथा समग्रीहरुको यथोचित विकासमा जोड दिनु नै अबको मुख्य एजेण्डा हुनु पर्दछ । तालिमले शिक्षकको मन र मष्तिस्कलाई नै परिवर्तन गर्न सक्नु पर्दछ । फलस्वरूप यसले विद्यार्थीका व्यवहारमा पनि परिवर्तन ल्याउन सकोस । विद्यार्थीका ज्ञानात्मक, भावनात्मक तथा मनोक्रियात्मक पक्षको अवलोकन गरी सहि मुल्यांकन गर्न सक्ने सामथ्र्य शिक्षकलाई तालिमले प्रदान गर्न सक्नु पर्दछ ।
यसै सन्दर्भमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन तथा सेन्ट लरेन्स स्कुल÷कलेजको सहकार्यमा “रुपान्तरित पेशागत विकासको लागि प्रतिबिम्बन“ विषयमा सेन्ट लरेन्स स्कुलमा कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा स्कुल र कलेजका सम्पूर्ण शिक्षकको स्वतःस्फूर्त र सक्रीय सहभागिता देखिएको थियो ।
योजना, कार्य र प्रतिविम्बन एकार्कामा कसरी अन्तरनिहित रहेका हुन्छन ? शिक्षण प्रक्रियामा आगमन शैली र निगमन शैली कसरी पहिल्याउने र अवलम्बन गर्ने भन्ने कुरा कार्यशालामा प्रष्ट पार्न खोजिएको थियो । जसमा विभिन्न शिक्षक शिक्षिकाहरुसंग प्रत्यक्ष अन्तरक्रिया पनि गरिएको थियो । शिक्षकले आफुमा निहित क्षमताको कसरी पहिचान गर्ने ? अनि एकाइसौ शताब्दीमा शिक्षकका कस्ता तयारी हुनुपर्दछ ? भन्ने विषयमा पनि रोचक चर्चा गरिएको थियो ।
कार्यशालाको सहजीकरण काठमाडौं विश्वविद्यालयकी रेजीना केसीले गर्नुभयो भने कार्यशाला संचालन काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डाक्टर बासु प्रसाद सुबेदीले गरेका थिए ।



