काभ्रेपलाञ्चोक/२४ भदौ-काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ मा रहेको भैरव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राख्दै विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विद्यार्थीले माध्यमिक तथा प्राविधिक धारतर्फको विषयगत शिक्षक व्यवस्था लगायतका १३ बुँदे माग राख्दै मङ्गलबारदेखि तालाबन्दी गरेका हुन् ।
विद्यार्थीले भदौ ११ गते विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा प्रधानाध्यापकलाई तत्काल शिक्षकको व्यवस्थापन गर्न ध्यानाकर्षणपत्र बुझाएका थिए । विद्यार्थीले बाली विज्ञान तथा अन्य विषयगत शिक्षकको अभावका कारण पठनपाठनमा समस्या भएको भन्दै भदौ १८ गतेभित्र शिक्षक व्यवस्थापन गर्न ध्यानाकर्षण गराए पनि उक्त समयसीमामा शिक्षकको व्यवस्था नभएपछि भदौ १९ गतेबाट विद्यार्थीले तालाबन्दी गरेका थिए ।
महाभारत गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्करराज विष्टले विद्यार्थीले माग राखेर विद्यालयमा तालाबन्दी गरेको भन्दै गाउँपालिकाबाट अनुगमन गर्ने क्रममा विद्यालयमा पुस्तकालय तथा अन्य प्रयोगशाला व्यवस्थापन नगरेको पाइएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक खुबनाथ दुलालले लामो समयदेखि विद्यालयमा अभाव रहेका शिक्षकको पदपूर्तिका लागि गाउँपालिकासँग अनुरोध गरे पनि बेवास्ता भएको बताउनुभयो । उहाँले शिक्षक पदपूर्ति नभएका कारण विद्यार्थीको पठनपाठनमा समस्यासँगै अङ्ग्रेजी, गणित, आइएस्सी एजी, एमएस्सी एजी, कृषि विज्ञानतर्फको फिजिक्स, केमेस्ट्री विषयको गरी छ जना शिक्षक अभाव रहेको बताउनुभयो । गोखापत्रमा समाचार छ ।



