विद्यालय सामाजिक परीक्षण मापदण्ड कार्यान्वयन गर्न निर्देशन

काठमाडौं/१६ भदौं-विद्यालय सामाजिक परीक्षण मापदण्ड कार्यान्वयन गर्न सबै स्थानीय तहहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । विद्यालय शिक्षालाई सहभागितामूलक, पारदर्शी एवं जवाफदेही बनाई, विद्यालय शिक्षा पद्दतीको सुदृढीकरण गर्ने उद्देश्यले कार्यान्वयन गर्न निर्देशन दिएको हो ।


विद्यालयमा सामाजिक परीक्षण हुँदै आएको र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भई कार्यान्वयनमा रहेको विद्यालय सामाजिक परीक्षण मापदण्ड–२०७८ बमोजिम सामाजिक परीक्षण गर्न केन्द्रले सबै स्थानीय तहहरूलाई आग्रह गरेको छ ।


केन्द्रले निम्न अनुसारको कार्य गर्न अनुरोध गरेको छ ।


(१) शिक्षा नियमावली २०५९ (संशोधन सहित) नियम १७१ (क) बमोजिमको समितिबाट विद्यालय सामाजिक परीक्षण गर्ने गराउने व्यवस्था मिलाउने ।


(२) सामाजिक परीक्षणका लागि गरिने तयारी छलफल एवं निर्णय गर्दा स्थानीय तहको सामाजिक ÷ शिक्षा समितिको संयोजक वा प्रतिनिधिको सहभागिता गराउने ।


(३) समितिले विद्यालयको आर्थिक, भौतिक, शैक्षिक, व्यवस्थापकीय पक्षको मूल्याङ्कन गरी तयार गरेको प्रतिवेदन सरोकारवालाहरूको भेला गराई छलफलका लागि प्रस्तुत गर्ने ।


(४) सामाजिक परीक्षणका लागि गठित प्राविधिक उपसमितिले प्रतिवेदन तयार गर्दा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली Integrated Educational Management Information System (IEMIS) बाट School Report Card लाई आधार बनाउने ।


(५) सामाजिक परीक्षण गरिएको मिति ( IEMIS) को Excell File मा अनिवार्य रूपमा अपडेट गरी वेबपेज ( iemis.cehrd.gov.np) मा अपलोड गर्ने व्यवस्था मिलाउने ।


(६) विद्यालयबाट समितिले तयार गरेको प्रतिवेदन स्थानीय तहको शिक्षा विभाग वा महाशाखा वा शाखामा पेस गर्ने व्यवस्था मिलाउने ।


(७) पेस भएको सामाजिक परीक्षण प्रतिवेदन अध्ययन गरी विद्यालयको प्राप्ताङ्कका सम्बन्धमा थप स्पष्ट गर्न आवश्यक देखिएमा स्थलगत रूपमा निरीक्षण अनुगमन वा छलफल गरी प्राप्ताङ्क पुनरावलोकन गर्ने ।


(८) अङ्क पुनरावलोकन पश्चात् कायम भएको मूल्याङ्कनमा विद्यालयहरूले प्राप्त गरेको नतिजा उच्चतम अङ्कदेखि न्यूनतम अङ्क सहितको समष्टिगत प्रतिवेदन स्थानीय तहले सार्वजनिक गर्ने ।


(९) सार्वजनिक भएको नतिजाको सङ्क्षिप्त प्रतिवेदन स्थानीय तहबाट शिक्षा विकास तथा समन्वय एकाइमा र एकाइले सङ्क्षिप्त प्रतिवेदन शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउनुपर्ने ।


(१०) विद्यालय सामाजिक परीक्षण मापदण्ड २०७८ ले तोकेको विधि प्रक्रिया र पद्दती बमोजिम सामाजिक परीक्षण गरी उच्चतम अङ्क प्राप्त गरेको विद्यालयलाई कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०/०८१ को परिधिभित्र रही शैक्षिक, व्यवस्थापकीय सुधार, सुशासनमा उत्कृष्ट कार्य गरेका विद्यालयलाई कार्य सम्पादनमा आधारित प्रोत्साहन अनुदानका लागि छनोट गर्ने ।


(११) सामाजिक परीक्षण गरेका विद्यालय र उनीहरूले प्राप्त गरेको प्राप्ताङ्क सहित शैक्षिक, व्यवस्थापकीय सुधार, सुशासनमा उत्कृष्ट कार्य गरेका विद्यालयको सूची स्थानीय तहले आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्नेछ ।