विद्यालय तथा कक्षाकोठामा संस्कृति विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं/९ भदौं-सफल शिक्षणको लागि शिक्षकको पेशागत दक्षता र विद्यालय संस्कृति मुख्य कारक तत्वका रूपमा रहेका छन् । यही पक्षको विकासको लागि युरो स्कुल छाउनी र काठमाडौँ विश्वविद्यालय शिक्षा विभागको सहकार्यमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


युरो स्कुल छाउनीमा शिक्षण तथा व्यवस्थापन पेशामा आवद्ध सम्पूर्ण सदस्यहरुको छलफल कार्यक्रममा सहभागिता रहेको थियो । शिक्षकको योग्यता, प्रतिबिम्ब, परिवर्तन पेशागत दक्षता सम्बन्धि प्रशिक्षण भएको थियो । पहिलो दिनको प्रशिक्षणको नेतृत्व र सहजीकरण काठमाडौँ विद्यालय स्कुल अफ एजुकेसनका संयोजक डा. पार्वती ढुङ्गानाले गरेकी थिइन । डा. ढुङ्गानाले शिक्षकमा हुनुपर्ने दक्षता के–के होलान् भने प्रश्नबाट उक्त कक्षाको सुरुवात गरेकी थिइन् । उक्त प्रश्नको उत्तर प्रशिक्षण कार्यमा संलग्न सम्पूर्ण शिक्षकले आ–आफ्ना ढङ्गले दिएका थिए । शिक्षाविद् डा. पार्वती ढुङ्गानाले नेपाल सरकारले तोकेको शिक्षकको दक्षता सम्बन्धी बुँदाहरू प्रस्तुत गर्दै शिक्षकमा हुनुपर्ने थप गुण तथा दक्षता सम्बन्धी छलफल गरिन् ।


कार्यक्रमको दोस्रो चरणमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका प्रशिक्षक मदन रिजालले कक्षाकोठा संस्कृति शीर्षकबाट सुरुवात गरेका थिए । उनले मूल्याङ्कनको लागि के–कस्ता मापदण्ड बनाउनु भएको छ ? भन्दै रुब्रिक्स बनाएर ल्याउने समूहगत कार्य दिँदै त्यस दिनको कार्यक्रम समापन गरेका थिए । प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको दोस्रो दिनको सुरुवात काठमाडौँ विश्वविद्यालयकै स्टिम विभाग प्रमुख विनोदप्रसाद पन्तले गरेका थिए । कक्षाकोठा संस्कृति के कस्तो हुनुपर्छ ? भन्ने प्रश्न प्रशिक्षार्थीलाई सोधेका थिए ।


प्रशिक्षार्थीका उत्तरमा अन्तरक्रिया गर्दै कक्षाकोठा संस्कृतिको बारेमा गहन छलफल गराएका थिए । कक्षाकोठा संस्कृतिका विभिन्न पक्ष र तिनको महत्व दर्शाउँदै त्यस दिनको प्रथम चरणको प्रशिक्षण कार्यक्रम समापन भएको थियो । त्यसै गरी दोस्रो चरणमा अघिल्लो दिनको गृहकार्य सम्बन्धी अन्तरक्रिया गर्दै मदन रिजाल प्रस्तुत भए । विद्यालय संस्कृति सम्बन्धी अन्तरक्रिया यस चरणको मुख्य विषयवस्तु बन्न पुग्यो । उनले यस्ता प्रशिक्षण कार्यक्रमबाट के–कस्ता उपलब्धि हुन्छन् भन्ने खालका प्रश्नावली भएको फारम प्रशीक्षार्थीद्वारा भर्न लगाउदै कक्षा समापन गरे ।


कार्यक्रमको अन्तिममा युरो स्कुल छाउनीकी प्रधानाध्यापक रोहिणी प्रधानले दुई दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम उपलब्धिमूलक भएको र आगामि दिनमा शिक्षकको व्यावसायिक विकास तालिम र कार्यशालाहरूको आवश्यकताको विश्लेषण, टिपिडी सत्रहरूको आयोजना र सञ्चालन, सिकाइ स्रोतहरूको योजना र विकास, निरन्तर अनुगमन र प्रतिक्रिया, प्रभावकारीताका लागि अनुगमन र मूल्याङ्कन जस्ता कार्यक्रमहरू गरिने जानकारी दिएकी थिइन ।