काठमाडौं/२९ साउन- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रधानाध्यापक सक्षमता प्रारूप, २०८० स्वीकृतका लागि सुझाब माग गरेको छ । विद्यालय विकासको भविष्यपरक सोचको निर्माणदेखि विद्यालयमा उपलब्ध शिक्षकको परिचालन र विकास, शिक्षक सहयोग र विकासमा प्रधानाध्यापकको भूमिका रहेको भन्दै प्रधानाध्यापक सक्षमता प्रारूप मस्यौदा तयार गरी सुझाब माग गरेको हो ।
विद्यालय प्रभावकारितासम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका प्रायः सबै अध्ययनले प्रधानाध्यापकको भूमिका महत्त्वपूर्ण रहने देखाएको र शिक्षकको प्रभावकारिताले विद्यार्थीको सिकाइमा प्रभाव पार्ने मानिएकोले प्रधानाध्यापक सक्षमता प्रारूप, २०८० सुझाबका लागि सार्वजनिक गरेको छ ।
प्रारूपको उद्देश्यलाई तीन तहमा हेर्न सकिने जसमा पहिलो तहमा पेसागत विकास र तयारी, दोस्रो तहमा सो सक्षमताको व्यवहारमा अभ्यास र विद्यालय व्यवस्थापनमा सुधार र अन्तमा विद्यालय प्रभावकारितामा सुधार तथा विद्यार्थी उपलब्धिमा अपेक्षित सुधार गर्न सकिने उल्लेख गरेको छ ।
प्रारूपको सफल कार्यान्वयनबाट पहिलो तहको उद्देश्य प्राप्ति हुन सक्छ । दोस्रो तहको उद्देश्य प्राप्तिका निमित्त विद्यालयमा आवश्यक सहयोगी वातावरण तयार गर्ने कार्य पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । तेस्रो तहको उद्देश्यका प्राप्तिका निमित्त विद्यालयभित्रको सहयोगी वातावरणका साथै अन्य नीतिगत र कार्यक्रमिक सामञ्जस्य महत्त्वपूर्ण हुन सक्छ प्रारुप मसौदामा उल्लेख वगरिएको छ ।
पृष्ठभूमि
विद्यालय सफल र प्रभावकारी हुनु वा नहुनुलाई त्यहाँ पढ्ने विद्यार्थीको भविष्यसँग गाँसेर हेर्न सकिन्छ । विद्यालयको प्रभावकारिता बढाउनेतर्फको प्रयत्न भनेको विद्यार्थीको भविष्य निर्माणका निमित्त गरिएको प्रयत्न हो । विद्यालय प्रभावकारितासम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका प्रायः सबै अध्ययनले प्रधानाध्यापक (प्रअ)को भूमिका महत्त्वपूर्ण रहने देखाएका छन् । शिक्षकको प्रभावकारिताले विद्यार्थीको सिकाइमा प्रभाव पार्ने मानिन्छ । विद्यालय विकासको भविष्यपरक सोचको निर्माणदेखि विद्यालयमा उपलब्ध शिक्षकको परिचालन र विकास, शिक्षक सहयोग र विकासमा प्रधानाध्यापकको भूमिका हुन्छ । यसका साथै उत्तरदायित्वको प्रबन्धलगायत स्रोतको बन्दोबस्त र कुशलतम उपयोगजस्ता पक्षमा प्रअले निर्वाह गर्नसक्ने भूमिकालाई ध्यानमा राख्दा प्रधानाध्यापकको सक्षमता र विद्यालयको सफलताबिच अन्योन्याश्रित सम्बन्ध रहेको देखिन्छ ।
प्रअको भूमिकालाई सफलतापूर्वक निर्वाह गर्न आवश्यक पर्ने सक्षमताका क्षेत्र पहिचान, हरेक क्षेत्रमा आवश्यक सक्षमता पहिचान र प्रअको पेसागत विकासको चरणअनुरूप अपेक्षित कार्यस्तरको उल्लेख गर्न सकेमा त्यसबाट प्रअको विकास, परिचालन तथा मूल्याङ्कन कार्यलाई आधार प्रदान देखिन्छ । यस तथ्यलाई मनन गरी नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो सक्षमताको प्रारूप विकास र स्वीकृत गरेको छ ।
प्रारूपको परिचय
यस प्रारूपलाई विभिन्न सात क्षेत्रअन्तर्गत सूत्रबद्ध गरिएको छ । हरेक क्षेत्रमा सक्षमताका मापदण्ड तयार गरिएका छन् । ती मापदण्डअन्तर्गत प्रअको पेसागत विकासको अवस्था र स्तर मापन गर्न सकिने गरी सूचक समेत विकास गरिएका छन् । यस प्रारूपमा विद्यालयको रणनीतिक दिशा निर्माण, शिक्षण तथा सिकाइको नेतृत्व, विद्यालय व्यवस्थापन, पेसागत विकास, सरोकारवालासँगको संलग्नता र सहकार्य, परिवर्तन तथा नवप्रवर्तनको नेतृत्व र सफलतापूर्वक कार्य सम्पादन गर्न आवश्यक वैयक्तिक गुणका साथै सामाजिक र अन्तरवैयक्तिक सिपजस्ता क्षेत्र समावेश गरिएका छन् । यी सात क्षेत्रमा कुल ४६ सूचक समावेश गरिएका छन् । सक्षमतालाई प्रस्तुत गर्दा सम्बन्धित क्षेत्रको ज्ञान र बुझाइ तथा मान्यता र सिपको समग्रतामा हेर्न खोजिएको छ ।
प्रअको सक्षमता स्थिर रहने विषय नभई पेसागत विकाससँगै परिष्करण हुन्छ भन्ने मान्यतालाई अङ्गीकार गरिएको छ । यसअनुसार प्रअको जिम्मेवारी भर्खर लिएका नवप्रवेशी प्रअले अनुभव, अध्ययन र प्रयत्नमार्फत आफूमा सो सक्षमतामा निखार ल्याउँदै उन्नत अवस्थामा पुग्न र समग्रमा पेसागत उन्नयनमा योगदान दिन सक्छन् भन्ने मान्यताले यस प्रारूपको विकास गरिएको छ ।
प्रारूपको उद्देश्य र उपयोग
यस प्रारूपको उद्देश्यलाई तीन तहमा हेर्न सकिन्छः (क) पहिलो तहमा पेसागत विकास र तयारी; (ख) दोस्रो तहमा सो सक्षमताको व्यवहारमा अभ्यास र विद्यालय व्यवस्थापनमा सुधार, र (ग) अन्तमा विद्यालय प्रभावकारितामा सुधार तथा विद्यार्थी उपलब्धिमा अपेक्षित सुधार यस प्रारूपको सफल कार्यान्वयनबाट पहिलो तहको उद्देश्य प्राप्ति हुन सक्छ । दोस्रो तहको उद्देश्य प्राप्तिका निमित्त विद्यालयमा आवश्यक सहयोगी वातावरण तयार गर्ने कार्य पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । तेस्रो तहको उद्देश्यका प्राप्तिका निमित्त विद्यालयभित्रको सहयोगी वातावरणका साथै अन्य नीतिगत र कार्यक्रमिक सामञ्जस्य महत्त्वपूर्ण हुन सक्छ ।
यस प्रारूपको प्रयोग निम्नलिखित सन्दर्भमा हुन सक्ने देखिन्छ :
प्रअ तयारीका निमित्त कार्यक्रम तयार गर्दा यस प्रारूपलाई आधार मान्न सकिने छ । प्रअको छनोट गर्दा कार्यविवरण तयार गर्ने सन्दर्भमा यसलाई सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्न सकिने छ । कार्यरत प्रअले आफनो स्वमूल्याङ्कन गर्न तथा कार्यसम्पादन मूल्याङ्कनका सन्दर्भमा यसलाई उपयोग गर्न सकिने छ । प्रअको पेसागत विकासका कार्यक्रमको तयार गर्ने सन्दर्भमा यसले महत्त्वपूर्ण आधार प्रदान गर्न सक्ने देखिन्छ ।
प्रारूपको प्रस्तुति तथा प्रारूपको कार्यान्वयन व्यवस्था
यस प्रारूपले माथि खण्ड तीनमा उल्लेख भएअनुसार विभिन्न सन्दर्भमा निर्णय लिनुपर्दा मार्गदर्शन प्रदान गर्ने छ । यसको कार्यान्वयनका लागि अलग्गै संरचना आवश्यक पर्दैन । मूलतः पेसागत तयारीका सन्दर्भमा उच्चशिक्षा संस्था तथा इन्स्टिच्युट, परिचालन र मूल्याङ्कनका निमित्त व्यवस्थापनका सम्बन्धित संरचना, पेसागत उन्नयन र प्रवर्द्धनका निमित्त सम्बन्धित पेसागत सङ्घ, सङ्गठनले नै यस प्रारूपको कार्यान्वयन गर्ने हुन् । सफल र प्रभावकारी कार्यान्वयनका निमित्त साझा बुझाइ निर्माण हुन जरुरी छ । यसका निमित्त यसको प्रबोधीकरण र सञ्चार महत्त्वपूर्ण हुन्छ र सम्बन्धित सबै क्षेत्रबाट यस दिशामा जिम्मेवारी बोध हुने अपेक्षा गरिएको छ ।
यहाँबाट हेर्नुहोस प्रधानाध्यापक सक्षमता प्रारूप, २०८० :
https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-390954518.pdf



