कास्की/११ असार-पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८० ०८१ को बजेटमा विद्यार्थीलाई दिवा खाजाको रकम वृद्धि गरेको छ । संघीय सरकारले तल्लो तहका विद्यार्थीलाई खाजाबापत दैनिक दिँदै आएको १५ रुपैयाँमा महानगरले १० थपी २५ रुपैयाँ दिने भएको हो ।
महानगरले विद्यार्थीको दिवा खाजा र प्रधानाध्यापकको प्रोत्साहन कार्यक्रमका लागि ४ करोड ६५ लाख रकम विनियोजन गरेको छ । त्यसैगरी कार्यक्रममा छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरणसम्मका कार्यक्रम बजेटमा समावेश छ ।
गण्डकी बहुप्राविधिक शिक्षालयको पूर्वाधार विकास र शैक्षिक कार्यक्रम सञ्चालनका लागि ३ करोड ३३ लाख, खेलकुद पूर्वाधार र प्रवर्द्धनमा १ करोड २५ लाख, ६ देखि १२ कक्षासम्मका छात्रका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउन १ करोड ६३ लाख र महानगरमा स्रोत शिक्षा, खेलकुद, युवा र प्राज्ञ प्रतिष्ठान सम्बन्धी कार्यक्रमका लागि १८ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।



