अविरल वर्षाका कारण पहिरो खस्दा विद्यालयको भवन पुरियो

सांकेतिक फोटो

बैतडी/१० असार-अविरल वर्षाका कारण पहिरो खस्दा विद्यालयको भवन पुरिएको छ । बैतडीको सिगास गाउँपालिका–८ स्थित लेकलुपुड माविको १२ कोठाको दुई वटा भवनमाथि पहिरो खस्दा पुरिएको हो ।


शनिबार अविरल वर्षासँगै भवनमाथि पहिरो खस्दा विद्यालय भवन पुरिएको र अन्य संरचना समेत जोखिममा रहेको विद्यालयले जनाएको छ । सार्वजनिक बिदा भएकाले मानवीय क्षति नभएको बताइएको छ । सङ्घीय सरकारको अनुदानमा गाउँपालिकाले ठेक्कामार्फत ७२ लाख रुपियाँमा नयाँ भवन निर्माण गरेको थियो ।


पहिरोले भवन पुरिए पछि विद्यालयमा पठनपाठन गर्न समस्या भएको छ । कक्षा १२ सम्मको पढाइ हुने लेकलुपुड माविमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।