छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई एक लाख जरिवाना

काठमाडौं/५ असार-काठमाडौँ महानगर क्षेत्रभित्रका ५०४ निजी विद्यालयमध्ये ४६५ ले छात्रवृत्ति विवरण बुझाएका छन् । महानगरको निर्देशन अनुसार निजी विद्यालयहरुले छात्रवृत्ति विवरण बुझाएका हुन ।


महानगरका ४६५ निजी विद्यालयबाट १३ हजार भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् । साथै प्राप्त विवरणको निरीक्षण गरी सो सूची प्रकाशित गरिने महानगरपालिका प्रमुख बालेन्द्र शाहाले जानकारी दिएका छन् ।


त्यसैगरी ३९ निजी विद्यालयहरुले अहिलेसम्म छात्रवृत्ति विवरण बुझाएका छैनन् । हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने शाहाले बताए । त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनको भनाइ छ ।