बाँके/५ असार-मेरो विद्यालय मेरो जिम्मेवारी भन्ने मुल नाराका साथ श्री जन ज्ञान ज्योति मा.वि.कोहलपुर १ कौशिलानगर बाँकेमा सप्ताह व्यापी सिर्जनात्मक लेखन/सीप कार्यशाला शुरु भएको छ ।
कार्यशालाको पहिलो दिन कविता प्रशिक्षण सम्पन्न भयो । कविता कार्यशालाका प्रशिक्षक वरिष्ठ कवि प्रा.डा.देवी नेपालले बालबालिकाहरूलाई छन्द कविता लेख्ने तौरतरिकाहरू सिकाउँदै विद्यार्थीहरूमा कविताप्रति मोह बढ्न थालेको र यहीँ मोहमा उर्जा थप्न पाएकोमा खुशी व्यक्त गरे । बालबालिकालाई कविता लेख्न र वाचन गर्न लगाउँदै हरेक विद्यार्थीभित्र केही न केही क्षमता हुन्छ त्यो क्षमतालाई प्रस्फुटन गराउन निरन्तरता दिन कार्याशालाहरूको आवश्यकता रहने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य प्राज्ञ महानन्द ढकालले विद्यालयले यस्तो महत्त्वपूर्ण कार्यक्रम गरी बालबालिकाभित्र लुकेर रहेको अन्तर्निहित क्षमता प्रस्फुटन गराउने अवसर दिएको र बाल प्रतिभा प्रस्फुटन हुने खालका कार्यक्रमहरु अन्य विद्यालयहरुले समेत गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रम संयोजक तथा विद्यालयका प्रधानाध्यापक सुमित्रा न्यौपानेले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै विद्यालयलाई हरेक किसिमबाट अगाडि बढाउन सैद्धान्तिक ज्ञान सँगसँगै सिर्जनात्मक क्षमता अगाडि बढाउनका लागि साहित्यका विभिन्न विधामा विद्यार्थीलाई तालिम प्रशिक्षण गरिएको जानकारी गराइन् ।
अतिथि तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिमलाल शर्माले बालबालिकालाई पठनपाठन सँगसँगै विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्य विद्यालयले लिएको र बालबालिकालाई हरेक किसिमको क्षमता बढाउन आफूहरु पछि नपर्ने कुरा व्यक्त गरे ।
आफूलाई मन पर्ने विधा छनौट गरी प्रशिक्षण दिनका लागि बनाइएको फाराम भरेका ७४ जना विद्यार्थीहरु कविता प्रशिक्षणमा सहभागी भएका थिए । यो हप्ता विद्यार्थीहरूमाझ बालकथा, निबन्ध, चित्रकला, गजल तथा मुक्तकका कार्यशालाहरू सञ्चालन गर्ने जानकारी अतिरिक्त क्रियाकलाप संयोजक विष्णुमाया भण्डारीले दिइन् । कार्यक्रमको सञ्चालन गायत्री हमालले गरेकी थिइन् ।



