कास्की २९ जेठ पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटी, फेयरफिल्ड, आयोवा, अमेरिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । व्यक्तिगत रूपान्तरण र वैदिक दर्शन लगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा हस्ताक्षर भएको हो ।
आधारभूत चेतना र शिक्षा र मानव जीवनमा व्याप्त युगौं पुराना समस्या समाधान गर्न सक्रिय रूपमा नयाँ प्रविधिहरू खोज्दै र यी प्रविधिहरूलाई नेपालका युवामाझ पु¥याउन सहयोग पुग्ने विश्वासका साथ पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र महर्षि इन्टरनेशनल युनिभर्सिटीका प्रेसिडेन्ट डा.जोन हेगेलिनले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् । चेतनामा आधारित शिक्षाले आत्म–ज्ञानको अनुभूति दिलाउने र यसले सिकाई धेरै सन्तोषजनक, सान्दर्भिक र रोमाञ्चक तुल्याउने हुँदा विद्यार्थीको भित्रि प्रतिभालाई उजागर गर्न मद्दत पुग्नेछ ।
समझदारीपछि दुबै संस्थाले शैक्षिक गतिविधिलाई मिलेर काम गरी समुदायलाई शिक्षण, अनुसन्धान र सेवामा सहयोग प्रवर्धन गर्नेछन् । जसका लागि सहकारी अनुसन्धान र शिक्षण मार्फत विद्यालय शिक्षा प्रबर्धन गर्न कार्यक्रम तथा परियोजना विकास गर्ने, शैक्षिक सहयोग प्रबर्धन गर्न गतिविधिहरू विकास गर्ने, शिक्षक, कर्मचारी, विद्यार्थी र बृहत समुदायका लागि संयुक्त कार्यशाला र सम्मेलन तथा प्रशिक्षण अवसरहरू आयोजना गर्ने, शिक्षक, विद्यार्थी र कर्मचारी आदानप्रदान कार्यक्रम र विश्वविद्यालयबीच संयुक्त प्रशिक्षण कार्यक्रमहरूको लागि अन्वेषण र कार्य गरिनेछ ।



