सामाजिक न्याय सम्बन्धी २४ विषयमा अनुसन्धानको थालनी

काठमाडौं/२७ जेठ-काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशन, हात्तीबनले “सामाजिक न्यायका लागि लेखन अनुसन्धान” विषयमा ५ दिने कार्यशाला सम्पन्न गरेको छ । स्कूलको भाषा शिक्षण विभाग र लेखन तथा सञ्चार केन्द्रको संयुक्त आयोजनामा जेठ २१ गतेदेखि २५ गतेसम्म कार्यशाला संचालन गरिएको थियो ।


उक्त कार्यशालामा २४ जना सहभागीहरूबाट कम्तीमा २४ विभिन्न सामाजिक न्यायसम्बन्धी विषयहरू पहिचान गरी लेखन अनुसन्धान कार्य थालनी भएको छ । शिक्षा, विकास अध्ययन, समाजशास्त्र लगायतका विभिन्न विधानिहित सामाजिक न्यायका मुद्दाहरूमा केन्द्रित भई तयार गरिने अनुसन्धानमूलक लेखनहरूलाई पुस्तक वा जर्नलको विशेषांकका रूपमा प्रकाशित गरिनेछ ।


हङकङ स्थित चाइनिज युनिभर्सिटी अफ हङकङका सह प्राध्यापक डा. प्रेम फ्याकको सहजीकरणमा सम्पन्न उक्त कार्यशालामा स्कूल अफ एजुकेशनका डीन प्रा.डा. बालचन्द्र लुइँटेल, विभिन्न विभागका विभागीय प्रमुख तथा प्राध्यापकहरू, रिसर्च असिष्टेण्ट र रिसर्च फेलोहरू साथै त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयका शिक्षक तथा अनुसन्धान कर्ताहरुको सहभागीता थियो ।