काठमाडौँ /९ जेठ-चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् अन्तर्गतका चिकित्सा शिक्षा सम्बन्धी शिक्षण संस्थाहरुको आशयपत्र र सम्बन्धन अनुमोदन तथा स्वीकृत गर्ने भएको छ । आयोगको जेठ ८ गते बसेको बैठकबाट निर्णय गर्दै चिकित्सा शिक्षा सम्बन्धी शिक्षण संस्थाहरुको आशयपत्र र सम्बन्धन अनुमोदन तथा स्वीकृत गर्ने भएको हो ।
साथै चिकित्सा शिक्षा आयोगले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा २०७९/०८० मा भएका मुख्य मुख्य कार्यहरुको बारेमा जानकारी दिँदै मंसिरमा र जेठ ८ गते गरिएको निर्णय अनुसार शिक्षण संस्थाहरुको आशयपत्र र सम्बन्धन अनुमोदन तथा स्वीकृत गर्ने जानकारी दियो ।
आयोगका अनुसार ६६ वटा शिक्षण संस्थाहरुले चिकित्सा शिक्षा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनका लागि अनुमति माग गरेको जनाएको छ । आयोगले निर्धारण गरेको मापदण्ड अनुसार पुरा गरेका तथा पूर्वाधार भएका, प्रयाप्त जानशक्ति भएका संस्थाहरुलाई अनुगमनका आधारमा स्वीकृत दिने जनाएको छ ।







