काठमाडौँ /९ जेठ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा क्षेत्रका समस्या समाधान गर्ने गरी चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिनुपर्ने बताउनुभएको छ ।
चिकित्सा शिक्षा आयोगको सोमबार बसेको ११ औँ बैठकमा प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रलाई सुधार गर्न चिकित्सा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताउनुभयो । उहाँले चिकित्सा क्षेत्रमा हालसम्मका विभिन्न अनुभवको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको बताउनुभयो । उहाँले देशको आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक पक्षको समग्र अवस्थाको प्रतिविम्ब सबै क्षेत्रमा परेको भन्दै स्वास्थ्य क्षेत्र पनि देशको समग्र अवस्थाको एउटा हिस्सा रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले कैयौँ युवा चिकित्सकले लाखौँ खर्च गरेर अध्ययन गर्ने तर पारिश्रमिक ३० देखि ४० हजार रुपियाँसम्म हुँदा नेपालमा बस्न कठिन भएको बताउनुभयो । उहाँले विदेशमा चिकित्सकलाई धेरै सुविधा रहेको आफूले सुनेको उल्लेख गर्दै चिकित्सा क्षेत्रका समस्या हल गर्ने गरी ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले चिकित्सा शिक्षा आयोगले मेहनत गरेर तयार पारेको ऐनलाई राष्ट्रिय हित हुने गरी अगाडि बढाउनुपर्ने भन्दै देशमा रहेका विभिन्न समस्याको प्रतिविम्बन नेपालको चिकित्सा क्षेत्रमा पनि रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा पनि गुणात्मक सफाइको आवश्यकता रहेको बताउनुभयो । उहाँले बैठकमा आयोगका सदस्यले राखेको धारणाले आफूलाई चिकित्सा शिक्षामा कहाँ समस्या छ र कसरी समाधान गर्नेबारे जानकारी लिन सहज भएको उल्लेख गर्नुभयो ।
उहाँले चिकित्सालगायत देशमा विभिन्न क्षेत्रमा समस्या रहेको उल्लेख गर्दै चिकित्सा क्षेत्रमा गुणात्मक सफाइको आवश्यकता रहेको बताउँदै चिकित्सा शिक्षा ऐनको पूर्णताले चिकित्सा क्षेत्रका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा चिकित्सा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले चिकित्सा शिक्षा आयोगको गतिविधिबारे प्रस्तुतीकरण दिनुभएको थियो । उहाँले आयोगको जनशक्तिको प्रक्षेपण, भावी कार्यदिशा, भइरहेका कार्यव्रmमका बारेमा प्रस्ट्याउनुभएको थियो । गोरखापत्रमा समाचार छ ।



