मदन राईले विद्यार्थीमाथि यौन दुर्व्यवहार र श्रम शोषण गरेको निष्कर्ष (प्रतिवेदनसहित)

काठमाडौं/७ जेठ-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ स्थित मदन राईले स्थापना गरेको शुभम फाउन्डेसनद्धारा सञ्चालित जनजागृति विद्यालयमा यौन दुर्व्यवहार र श्रम शोषण हुने गरेको अध्ययनले देखाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सीजप), बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, सीवीन नेपाल र इन्सेकको संयुक्त स्थलगत अध्ययन प्रतिवेदनमा राईले विद्यालयमा यौन दुर्व्यवहार र श्रम शोषण हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।


‘ज्ञान र सीप संगसंगै’ भन्ने नारा सहित सञ्चालनमा रहेको भनिएको विद्यालय पुर्णत प्राविधिक विद्यालय भनिए पनि विद्यालयका विद्यार्थी यौन दुर्व्यवहार र श्रम शोषणमा परेको विभिन्न संघसंस्थाको भनाई छ ।


आफुलाई कृषि बैज्ञानिक भन्ने गरेका मदन राईले आफु र श्रीमतिको नामबाट स्थापना गरेको सुभद्रा मदन फाउण्डेशन मार्फत संचालन गरेको विद्यालयमा अध्ययनरत छात्राहरुलाई पटक पटक नांगिएर,अश्लील शव्दहरु बोल्ने, नांगिएर मसाज गर्न लगाउने, संवेदनशील अंगमा हात हाल्ने तथा चलाउन लगाउने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, नग्न भएर अश्लील हर्कत गर्ने लगायत थुप्रै तरिकाले लामो समयदेखि बालबालिका तथा किशोर किशोरीहरुलाई यौन दुव्र्यवहार गर्ने गरेको अध्ययनको निष्कर्ष छ ।


राईले विद्यालयमा मात्र होईन आफ्नो घरमा समेत, पटक पटक, बालबालिका मात्र नभई विद्यालयमा रहेका सवै कर्मचारी, स्वयंसेवक समेत दुव्र्यवहारमा पर्ने गरेको प्रतिवेदनमा भनिएको छ । साथै नेपाल सरकारको आधिकारिक निकायबाट स्वीकृति बेगर आवासीय गृह संचालन गरेको, विद्यालयकै छेउमा होमस्टे तथा क्याफे संचालन गरेको, आवासीय गृहमा बस्नेगरी बालबालिकाहरु ल्याउँदा बालकल्याण अधिकारीको स्वीकृति वा सिफारीस बेगर ल्याउने गरेको, सजिलै बाहिरका मानिसहरुको पहुँच, बालबालिका बिहान ७ बजेदेखी बेलुका अवेरसम्म श्रम गर्नुपर्ने र बालबालिकालाई प्रत्येक पाईला पाईलामा दुव्र्यवहार देखि सुरक्षा सम्मको जोखिम देखिएको प्रतिवेदनमा उल्लेख छ ।


यौन दुव्र्यवहारको आरोप लागेकै व्यक्ति अझै विद्यालय व्यवस्थपन तथा अभिभावकका रुपमा रहनु र पीडक मदन राईको नजिकको नातेदार समेत भएकाले बालबालिकाहरुलाई प्रलोभन, त्रास, धम्की दिनसक्ने र घटना होस्टाईल हुनसक्ने जोखिम बढेको देखिएको विभिन्न संस्थाहरुको भनाई छ ।


हेर्नुहोस प्रतिवेदनको पूर्णपाठ :

खोटाङ जिल्ला दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका–२ स्थित सुभद्रा मदन (सुभम) फाउण्डेशनमा भएको बाल यौन दुव्र्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन, २०८०

प्रतिवेदन तयार पार्ने
राजेश शर्मा, अध्यक्ष, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)
अशोक खनाल, संयोजक, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च
बासु अधिकारी, प्रमुख बालहेल्पलाइन विराटनगर (सिविन नेपाल)
सिन्जा निरौला, कार्यक्रम सहायक बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)
तारानाथ फुयाल, जिल्ला प्रतिनिधि, इन्सेक

घटनास्थल : खोटाङ जिल्ला दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका वडा नं. २ स्थित सुभद्रा मदन (सुभम) फाउन्डेशनद्धारा संचालित विद्यालय तथा आवास गृह


घटना प्रकृति : बालिका तथा किशोरीमाथि भएको यौन दुव्र्यवहार


घटनाको विषय : आफुलाई कृषि बैज्ञानिक भन्ने गरेका मदन राईले आफु र श्रीमतिको नामबाट स्थापना गरेको सुभद्रा मदन फाउण्डेशन मार्फत संचालन गरेको विद्यालयमा अध्ययनरत छात्राहरुलाई पटक पटक नांगिएर,अश्लील शव्दहरु बोल्ने, नांगिएर मसाज गर्न लगाउने, संवेदनशील अंगमा हात हाल्ने तथा चलाउन लगाउने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, नग्न भएर अश्लील हर्कत गर्ने लगायत थुप्रै तरिकाले लामो समयदेखि बालबालिका तथा किशोर किशोरीहरुलाई यौन दुव्र्यवहार गर्ने गरेको, घटना बाहिरिएपछि प्रहरीले निज मदन राइलाई गिरफतार गरेको छ । उनले सञ्चालन गरेको आवासीय गृहमा १०१ जना बालबालिका अहिले पनि छन् । बालबालिकाको संरक्षण र उनीहरुको न्यायको अवस्थालाई मध्यनजर गर्दै घटनाको स्थलगत अनुगमन गरिएको छ ।


स्थलगत अध्ययन मिति : २०८० जेठ २ र ३ गते ।
घटनाको स्थलगत अध्ययन उद्देश्य
१) घटनाका बारेमा सत्य तथ्य जानकारी लिने र सार्वजनिक गर्ने ।
२) अनुसन्धान अधिकारीहरुलाई सघाउ पु¥याउने ।
३) बालबालिकाको सर्वोत्तम हीत अनुकुल वातावरण सिर्जना गर्न सरोकारवाला निकायहरुलाई आग्रह गर्ने ।
४) पीडकलाई कार्वाही र पीडितलाई बाल अनुकूल न्यायका लागि वातावरण सिर्जना गर्ने ।
५) विद्यालयमा रहेका बालबालिकालाई संरक्षण, भयरहित वातावरण सिर्जना गर्न तथ्यगतरुपमा सम्बन्धित निकायमा आग्रह गर्ने ।
६) सार्वजनिक भएका घटनाबाहेक अरु विभिन्न हिंसाहरु बालबालिकाले भोगे नभोगेको तथ्यगत रुपमा जानकारी लिने र सार्वजनिक गर्ने ।
७) पीडितहरु होस्टाइल हुन नदिन, बालबालिकाले आफुमाथि परेको पीडा अनुसन्धानमा भन्न सक्ने वातावरण बनाउनुका साथै आगामी दिनमा यस्ता घटना नहुनकालागि राज्यका निकाय संवेदनशील बन्ने वातावरण सिर्जना गर्ने ।

घटनाको स्थलगत अध्ययनका विधि र तरिकाहरु
-घटनास्थलको प्रत्यक्ष अवलोकन
– घटनाका प्रत्यक्षदर्शी बालबालिकासंगको अन्र्तवार्ता
– फाउन्डेसनले संचालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकसँंगकोे अन्र्तवार्ता
– घटनास्थल वरपरका समुदाय र अभिभावकसँंगको अन्र्तवार्ता
– स्थानीय सरकारका प्रमुख, उप प्रमुखसँंगको अन्र्तवार्ता
– घटनाका पीडकलाई सजायँ र पीडितलाई न्याय दिलाउने सम्बन्धी कार्यमा लागीरहेका सरकारी वकिल, अनुसन्धान अधिकृत,जिल्ला प्रहरी कार्यालयका प्रमुख, राष्ट्रिय मानव अधिकार आयोग खोटाङका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँंगको अन्र्तवार्ता
– विगतमा सो गृहमा बसेमा व्यक्तिहरुसँगको अन्र्तवार्ता


घटनाको पृष्ठभूमि :
खोटाङ जिल्लास्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ स्थित जनजागृति विद्यालय मदन राईले स्थापना गरेको शुभम फाउन्डेसनले बिगत नौ वर्षदेखी व्यवस्थापन तथा संचालन गरी रहेको छ । यो विद्यालय सामुदायिक विद्यालय हो, भने शुभम ललितपुर जिल्लामा दर्ता भएको संस्था हो । यस विद्यालयमा १०१ जना (विद्यालयको जानकारी अनुसार) विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् । धेरैजसो विद्यार्थीहरु जिल्ला बाहिरका भएकाले प्राय सवै बालबालिकाहरु फाउन्डेसनकै आवास गृहमा बस्दछन् । ‘ज्ञान र सीप संगसंगै’ भन्ने नारा सहित सञ्चालनमा रहेको भनिएको विद्यालय पुर्णत प्राविधिक विद्यालय हो भनिएको छ ।


मदन राई बिगतमा सधैजसो यौनजन्य विषयमा अश्लील तथा अपाच्य अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन् । उनले बोल्ने गरेका शव्दहरु अश्लील तथा दुव्र्यवहार गर्ने प्रकारका हुन्छन् । राईले विद्यालयको प्रार्थनाको समयमा होस् वा अन्य समयमा सार्वजनिक रुपमा बालबालिकाको अगाडि नग्न हुने, अश्लील बोल्ने, बालिकाहरुलाई लहरै राखेर यौनजन्य गतिविधि गर्ने गराउने तथा शहरी शिक्षाका लागि भन्दै ललितपुरमा रहेको आफ्नै घरमा लगेर समेत किशोरीहरुलाई मसाज गर्न लगाउने, महिनावारी भए नएको सोध्दै ‘पेट बोकिस’ भन्ने लगायतका अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्ने गरेको भिडियो समेत सार्वजनिक भैसकेको छ । राईले दिने अभिव्यक्ति, बोल्ने अश्लील शव्दहरु, पछिल्ला समय सार्वजनिक भएका भिडियोहरु लगायत यस्तै हर्कतहरुबाट विद्यालयमा रहेका बालबालिकाहरु तथा शिक्षकहरुलाई समेत विभिन्न रुपमा दुव्र्यवहार भएको बुझिएको छ ।

अनुगमन टोलीले फेला पारेका तथ्यहरु :
क) सुभम फाउन्डेशन मार्फत सञ्चालन भएको विद्यालय हाता भित्रै होमस्टे, क्याफे संचालन गरेको । उक्त होमस्टे तथा क्याफेमा कुनैपनि कर्मचारी नराखी सबै कामहरु विद्यालयमा अध्ययनरत बालबालिका मार्फत गराउने गरेको । (बालश्रम)


ख) फाउण्डेशनले विद्यालय संचालन गरेको समयदेखी नै बालबालिकाहरुलाई अश्लील बोल्ने गरेको ।


ग) मदन राई विद्यालय समय, प्रार्थनाको समय अथवा जुनसुकै समयमा पनि नग्न हुने गरेको । नग्न भएर गर्ने यौनजन्य गतिविधि तथा बोल्ने उछृङ्खल शब्दलाई यौन शिक्षा भन्ने गरेको ।


घ) विद्यालयमा अध्ययनरत अधिकांश बालबालिकाहरु न्युन आर्थिक अवस्थाका रहेको र नियमित परिवारसंँग सम्पर्कमा रहन नसक्ने भएकाले परिवारलाई जानकारी गराउन नसकेको । (परिवारसँग नियमित सम्पर्कमा रहने)


ङ) अभिभावकविहीन बालबालिकासमेत त्यस विद्यालयमा अध्ययन गर्ने र उनीहरुको अभिभावक संरक्षक कोहि पनि नहुने हुनाले जस्तोसुकै दुव्र्यवहार पनि सहेर बस्नपर्ने बाध्यतामा बालबालिकाहरु रहेको । विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको राज्यबाट विशेष सेवा सुविधा)


च) मदन राईले जुनसुकै बेला जस्तोसुकै अवस्थामा पनि अपशव्द बोल्न,े यौन दुव्र्यवहार गर्ने भएकाले विशेषत किशोरीहरु उसको अगाडि पर्न डराउने, लजाउने गरेको ।


छ) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य राईले मदन राईलाई पक्राउ गरेकै भोलीपल्ट सबै विद्यार्थीहरुलाई जम्मा गरी घटनाका बारेमा बाहिर नबोल्न धम्क्याएको तथा बोल्यो भने विद्यालय बन्द हुन्छ, बोल्नेलाई जेल सजाय हुन्छ भन्ने जस्ता अभिव्यक्ति दिएको । र, उनै सुर्य राईमाथि पनि यौन दुव्र्यवहारको आरोप लागेको तर जाहेरी दर्ता नभएको कारण मुद्दा प्रक्रिया अगाडी नबढेको ।


ज) विद्यालय हाताभित्रै जोसुकै व्यक्ति जुनसुकै बेला प्रवेश गर्न, डुल्न बालबालिकासँंग घुलमिल हुन सक्ने भएकाले त्यहाँका बालबालिका थप अन्य कुराहरुबाट समेत अत्यन्तै जोखिममा रहेको ।


झ) विद्यालयमा रहेका सवै पशुपंक्षीहरुको लागि घाँस काट्ने, गोबर सोहोर्नेदेखि सबै श्रम बालबालिकाले गर्नुपर्ने । प्राय कामहरु बालबालिकाको लागि विभिन्न हिसावले जोखीम हुने तथा नियमित बालबालिकालाई चोटपटक लाग्ने गरेको । रुख चढ्ने जस्तो जोखिम कार्य समेत बालबालिकाहरुले नै गर्ने हुदाँ उनीहरु अत्यन्तै जोखिममा रहेको । जोखिम मापन गर्ने कार्य नगरिएको ।


ञ) सानो कक्षाका बालबालिकाहरु विशेषत कृषि तथा पशुपालन सम्बन्धी श्रममा संलग्न हुने र ठुलो कक्षाका बालबालिकाहरु होमस्टे तथा क्याफेमा काम गर्ने गरेको पाईयो भने ठुला बालबालिकाहरुले साना बालबालिकाहरुलाई हेप्ने तथा बढि काम गर्न लगाउने गरेको समेत पाईयो ।


ट) होमस्टे तथा क्याफेमा किशोरीहरुले पकाउने तथा ग्राहकहरु सम्म पुर्याउने, टाढा टाढा एकान्तमा रहेका घर (होमस्टे)मा समेत सेवा दिनुपर्ने अवस्था रहेको देखिन्छ । यस्तो अवस्थामा बालबालिकाहरु मदन राईबाट मात्र होईन अन्य नचिनेका मानिसहरु बाट समेत यौन दुव्र्यवहारमा पर्ने अत्यन्तै जोखिम भएको । र विगतमा घटेका बाल यौन दुव्र्यवहारका घटनाहरु समेत बाहिर नआएको ।


ठ) विद्यालय तथा होमस्टे र क्याफेमा रहेको शौचालयमा शौच संकलन गर्ने बिधि अपनाएको पाईयो । सबै शौचालयमा जम्मा भएका दिसा, पिसावलाई बालबालिकाले नै बोकेर खेतीपाती सम्म पुर्याउनु पर्ने वाध्यता रहेको ।


ड) मदन राईले सधैं सवै ठाउँमा अश्लील बोल्ने भएकाले समाजले समेत उनका दुव्र्यवहारहरुलाई सामान्य रुपमा हेर्ने गरेकाले उनलाई थप दुव्र्यवहार गर्न प्रोत्साहन मिलेको देखिन्छ ।


ढ) प्रायः बालबालिका विद्यालयकै आवास गृहमा बस्ने गरेको पाईयो । बालिका बस्ने आवास गृह सडक तथा क्याफे नजिकै भएकाले बालबालिकालाई असहज हुने गरेको तथा अन्यबाट पनि दुव्र्यवहारको जोखिम रहेको ।


ण) बिशेषतः माथिल्लो कक्षाका किशोरीहरुलाई शहरी सिकाईकालागि मदन राईले ललितपुरमा रहेको आफ्नै घरमा लैजाने गरेको पाईयो । घरका सवै काम गर्न लगाउने देखी लिएर उनमा भित्री बस्त्रहरु धुन लगाउने, मसाज गर्न लगाउने र पटक पटक बालिकाहरुलाई यौनजन्य गतिविधिमा संलग्न गराउने गरेको पाईयो ।


त) विद्यालयले सञ्चानल गरेको आवास गृह मापडण्ड विपरितको रहेको र आवास गृह संचालनको दर्ता अनुमति कतैपनी नलिएको पाईयो ।


थ) सरकारी विद्यालयलाई फाउन्डेसनको सहयोगमा सञ्चानल गरिएको भनिएपनि पुर्णतः निजी विद्यालयझै संचानल गरेको पाईयो ।


द) आवासीय बाल गृह, क्याफे, होमस्टे जस्ता क्षेत्रहरुमा अत्याधिक बालश्रम रहेको पाईयो । साथै काम गर्ने वयस्कहरुले समेत पारिश्रमिक नपाएको बुझियो ।
ध) विद्यालय हाताभित्रै संचालनमा रहेको क्याफे तथा होमस्टेमा मदिरापान गर्ने छुट रहेको पाईयो । सबै सेवा गर्ने बालबालिकाहरु हुने भएकाले मदिरापान गर्नेहरुबाट पनि बालबालिकाहरु अत्यन्तै जोखीममा रहेको पाईयो ।


न) विभिन्न जिल्लाका बालबालिका ल्याउदा गृह मन्त्रालयले गरेको परिपत्र, बालबालिका सम्बन्धी ऐन, २०७५ तथा यसको नियमावली २०७८ मा भएका व्यवस्थाको उल्लंघन गरेको पाइयो । आधिकारिक सिफारिस विना बालबालिका राखिएको पाइयो ।
प) फरक फरक उमेर समुहका बालबालिकाहरु पढ्ने तथा बस्ने विद्यालयका संचालक तथा व्यवस्थापक नै यौन दुव्र्यवहार गर्ने, अश्लील शव्द बोल्ने भएकाले बालबालिकाहरुबाट बालबालिकानै दुव्र्यवहारमा पर्नसंक्ने जोखिम देखियो ।


फ) जनजागृति विद्यालयलाई सरकारी विद्यालयको रुपमा सञ्चालन गरेको तर विद्यालय संचालनका मापडण्ड पुरा नगरेको र सरकारी विद्यालयले समेत रु.५००० शुल्क लिने गरेको पाईयो । पठनपाठनलाई स्वअध्ययन विधि भन्दै बालबालिकालाई श्रम गराउन प्रयोग गरेको पाईयो । विद्यालयमा जम्मा २ स्थायी शिक्षक रहेकोमा हाल जम्मा १ जना (प्रधानाध्यापक मात्र) शिक्षकका रुपमा रहेको । कृषि, पशुपालन, पाकशिक्षा, होटल व्यवस्थापन, इन्जिनियरिङ जस्ता विषय पढाई हुने भनिएता पनि कुनैपनि विषयको विषयगत शिक्षक नभएको पाईयो ।


ब) दिक्तेल रुपाकोट मझुुवागढी नगरपालिकाले अतिथिहरुको बसोबास देखी प्राय सवै कार्यक्रमहरु त्यही संचालन गर्ने गरेको । जिल्ला प्रशासन कार्यालयले पटक पटक विद्यालयको अनुगमनका लागि नगरपालिकालाई आग्रह गर्दा समेत नगरपालिकाले वास्ता नगरेको पाईयो । साथै विभिन्न राजनैतिक दल तथा तिनका भातृ संगठनहरुले समेत राजनैतिक कार्यक्रम विद्यालय भित्र गर्ने गरेको पाईयो । यी सबै कार्यक्रममा होमस्टे तथा क्याफेमा बालबालिकाले नै सेवा दिने गरेको पाईयो ।


भ) विभिन्न समयमा बाल अधिकारका अगुवा, मानव अधिकारकर्मी, सरकारी कर्मचारी, वरिष्ठ पत्रकारहरु, सरकारी नियुक्ती पाएका उच्च पदस्थ व्यक्तिहरु लगायत मन्त्री, पुर्व मन्त्री, पुर्वप्रधानमन्त्री समेतले भ्रमण गर्दा बालश्रमको पाटोलाई बेवास्ता गर्दै विद्यालयको प्रचारप्रसार तिर लागेकाले विद्यालयमा बालश्रम र दुव्र्यवहारले प्रसय पाएको देखियो ।


म) बालबालिकाहरुको हक, अधिकार प्रचलन गराउने सरकारको जिम्मेवार निकाय र जिम्मेवार पदाधिकारीहरुले समेत विद्यालयको बारेमा थाहा हुँदाहुँदै समेत विद्यालयमा भैरहेका बालबालिकाको हित विपरितका कार्यहरु विरुद्ध कुनैपनी कदम नचालेको पाईयो ।


य) यस घटनालाई लिएर नगरपालिका पनि विभाजित रहेको पाईयो । नगरप्रमुखले पीडित र पीडक दुबै पक्षको हुनेगरी मध्यमार्गी भएको पाईयो भने नगर उपप्रमुख (जो न्यायिक समितिको समेत प्रमुख हुनुहुन्छ ) भने खुलम्खुल्ला पीडकको पक्षमा प्रवक्ताका रुपमा उभिएको पाईयो ।


र) यस घटनालाई पहिचान र राजनीतिसंग जोड्दै पीडक उम्काउने गरी जिम्मेवार व्यक्तिहरु नै लागेको देखिन्छ ।


ल) विद्यालय बाहिरका मानिसहरु अनुमति बेगर सजिलै प्रवेश गर्ने, बालबालिकालाई मदन राई तथा घटनाका बारेमा पटक पटक सोधपुछ हुने जस्ता कुराले बालबालिकाहरु डर, त्रासमा रहेकोे अवस्था छ ।


व) जनगागृति विद्यालय सरकारी विद्यालय हो । सरकारी विद्यालयको आफ्नै पाठ्यक्रम हुन्छ । यस विद्यालयको पठनपाठन र पाठ्यक्रम न सरकारले तोकेको मापडण्डको छ न त यसको छुट्टै पाठ्यक्रम नगरपालिकाले स्वीकृत गरेको छ । कानुनी मान्यता वा स्वीकृति बिनाको आफ्नै ढंगको पाठ्यक्रमले विद्यार्थीहरुको भविष्य अन्योल हुनसक्ने देखिन्छ ।


निष्कर्षः
घटनाको स्थलगत अध्ययन, सरोकारवालासंगको छलफल र अन्र्तवार्ता तथा विभिन्न माध्ययमा आएका भिडियोहरु हेर्दा मदन राईबाट विद्यालयमा रहेका थुप्रै बालबालिकाहरु यौन दुव्र्यवहारबाट पीडित भएको निष्कर्ष निकाल्न सकिन्छ । राईले विद्यालयमा मात्र होईन आफ्नो घरमा समेत, पटक पटक, बालबालिका मात्र होईन विद्यालयमा रहेका सवै कर्मचारी, स्वयंसेवक समेत दुव्र्यवहारमा पर्ने गरेको पाईयो ।


यस घटना तथ्य खोजको अर्को निष्कर्ष भनेको त्यस विद्यालयमा यौन दुव्र्यवहार मात्र भएको होईन चरम बालश्रम शोषण, उमेर पुगेका वयस्कहरुको समेत श्रम शोषण हुने गरेको छ । नेपाल सरकारको आधिकारिक निकायबाट स्वीकृति बेगर आवासीय गृह संचालन गरेको अवस्था छ । अर्कोतर्फ विद्यालयकै छेउमा होमस्टे तथा क्याफे संचालन भएको पाईयो । आवासीय गृहमा बस्नेगरी बालबालिकाहरु ल्याउँदा बालकल्याण अधिकारीको स्वीकृति वा सिफारीस बेगर ल्याउने गरेको पाईयो । सजिलै बाहिरका मानिसहरुको पहुँच, बालबालिका बिहान ७ बजेदेखी बेलुका अवेरसम्म श्रम गर्नुपर्ने देखियो जसले गर्दा बालबालिकालाई प्रत्येक पाईला पाईलामा दुव्र्यवहार देखि सुरक्षा सम्मको जोखिम देखिन्छ ।


विद्यालयको संरक्षक तथा अध्यक्ष समेत यौन दुव्र्यवहारको आरोप लागेको अवस्था छ । जिम्मेवार व्यक्तिहरुबाटै पटक पटक दुव्र्यवहार हुँदा बालबालिकाहरुले पनि सोहि सिकेर आफुभन्दा साना तथा कमजोर बालबालिकाहरु माथि दुव्र्यवहार तथा श्रम शोषण हुनसक्ने जोखीम देखिन्छ । अर्कोतर्फ यौन दुव्र्यवहारको आरोप लागेकै व्यक्ति अझै विद्यालय व्यवस्थपन तथा अभिभावकका रुपमा रहनु र पीडक मदन राईको नजिकको नातेदार समेत भएकाले बालबालिकाहरुलाई प्रलोभन, त्रास, धम्की दिनसक्ने र घटना होस्टाईल हुनसक्ने जोखिम छ ।


अनुगमन टोलीको सुझावहरुः
क) राष्ट्रिय बाल अधिकार परिषद्लाई सुझाव :


– पीडित बालबालिकाको तत्काल उद्दार, संरक्षण तथा पुर्नस्थापनाको लागि घटना व्यवस्थापन योजना अविलम्व तयार गरी यथाशीघ्र कार्यान्वयन गर्ने।

– आवास गृहमा बालबालिकाको भर्ना प्रक्रिया तथा संरक्षण व्यवस्थापनमा भएका कानून विपरितका कार्यहरुलाई अनुसन्धानको दायरामा ल्याउन यथाशीघ्र पहल गर्ने ।

– फाउन्डेशनले सञ्चालन गरेको आवासीय गृहमा बालश्रम लगायतका जोखिमपूर्ण अवस्था श्रृजना गरिएका घटनालाई बालबालिकाको सर्वोत्तम हित अनुकुल अनुसन्धान, अभियोजन गर्न पहल गर्ने ।

– बालबालिका सम्बन्धी ऐन २०७५ बमोजिम स्थानीय बाल अधिकार समिति, बाल कल्याण अधिकारी, समाजसेवी तथा बालमनोविज्ञको सूचीकरण तथा बाल कोषको व्यवस्थापनका लागि तुरुन्त पहल गर्ने ।

– विद्यालयमा रहेका बालबालिकाहरुलाई तत्काल मनोसामाजिक परामर्शको आवश्यकता रहेकाले छिटो भन्दा छिटो मनोपरामर्श सेवा उपलव्ध गराउन जरुरी छ ।

– विद्यालयमा रहेका सबै बालबालिकाले श्रम गर्नुपर्ने अवस्था रहेकाले तत्काल त्यसको बैकल्पिक व्यवस्था गर्नु जरुरी छ ।

– विद्यालयमा रहेका बालबालिकाको अभिभावकसँंग समन्वय गरी विद्यार्थीहरुको अलग अलग विवरण राख्न जरुरी छ ।
– तत्काल विद्यालयमा बाल संरक्षण संयन्त्र निर्माण गर्न जरुरी छ । यस्का साथै उजुरी वा गुनासो पेटिकाको व्यवस्था गरी सो सम्वन्धी आवश्यक नियम सहित कार्यान्वयनको जरुरी छ ।


(ख) जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलाई सुझाव :
– तत्काल विद्यालयको व्यवस्थापन परिवर्तन गरी बालबालिकाहरुलाई सुरक्षित गर्नु पर्दछ ।
– जनगागृति विद्यालय सरकारी विद्यालय भएकाले तत्काल त्यसको व्यवस्थापन तथा संचालनको जिम्मेवारी स्थानीय नगरपालिकाले लिनुपर्दछ । यदि सहकार्य वा साझेदारीको अवधारणामा संचालन गर्ने भए आवश्यक नीति तथा कानुनको तर्जुमा गरी सोही अनुरुप कार्यान्वयन गर्नुपर्दछ ।
– तत्काल बालमैत्री आचारसंहिता बनाई प्रभावकारी कार्यान्वयन गराउन पर्दछ ।
– विद्यालय सञ्चालनका सवै मापदण्ड पुरा गरी आवश्यक जनशक्तिको व्यवस्थापन सहित विद्यालय संचालन गर्नुपर्दछ ।
– विद्यालयले संचालन गरेको आवासीय गृहलाई नेपाल सरकारले तोकेको मापडण्ड पुरा गरी तत्काल दर्ता गरी कानुनी मान्यता दिलाउन आवश्यक छ ।


(ग) स्थानीय प्रहरी तथा सरकारी वकिल कार्यालयलाई सुझाव :
– हाल पहिचान भएका पीडित बालिकाहरु त्यही आवास गृहमा रहेर अनुसन्धान प्रकृया प्रभावकारी रुपमा अगाडि बढ्न सक्दैन । तसर्थ पहिचान भएका पीडित बालबालिकाको तत्काल उद्धार गर्न जरुरी छ ।
– विद्यालय हाता भित्रै होमस्टे, क्याफे संचालनमा रहेकाले तत्काल केही समय बन्द गरी बाहिरका मानिसहरुको आगमनलाई निषेध गर्नु पर्दछ ।
– बालअधिकार प्रति सजग रहँदै बालबालिका सम्बन्धी ऐन लगायतका प्रचलित कानून अनुसार निश्पक्ष अनुसन्धान र अभियोजन हुन ।


घ) राष्ट्रिय मानव अधिकार आयोगलाई सुझाव :
– राष्ट्रिय बाल अधिकार परिषद्, जिल्ला प्रशासन कार्यालय, प्रहरी, सरकारी वकिल कार्यालय, स्थानीय तह (दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका) लाई बाल अनुकूल न्यायका लागि निर्देशन दिने, सो बमोजिम भए नभएको अनुगमन, अनुसन्धान र आवश्यकता अनुसारको बयान समेत लिने ।
-घटनालाई विभिन्न राजनैतिक दल तथा मुद्धाहरुसंग जोडेर गलत सूचनाहरु प्रवाह भईरहेकाले घटनालाई गम्भीरतापुर्वक लिई होस्टाईल हुनसक्ने कुरालाई रोक्न सवै क्षेत्रबाट खवरदारीको जरुरत छ ।