विद्यालयमा अनिवार्यरुपमा स्वयंसेवकीय कक्षा दिने अनेरास्ववियुको निर्णय (हेर्नुहोस निर्णय)

काठमाडौँ /७ जेठ-अनेरास्ववियुले महिनाको एक दिन शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी वा सामुदायिक विद्यालयमा अनिवार्यरुपमा स्वयंसेवकीय कक्षा दिने निर्णय गरेको छ । आइतबार केन्द्रीय कमिटीको दोस्रो बैठक (४–६ जेष्ठ २०८०) को निर्णय सार्वजनिक गर्दै कमिटीमा रहेका सम्पूर्ण नेताहरुले सरकारी वा सामुदायिक विद्यालयमा अनिवार्यरुपमा स्वयंसेवकीय कक्षा दिने निर्णय गरेको हो ।


साथै बैठकले निजी शैक्षिक संस्थाहरुले दिनुपर्ने अनिवार्य छात्रवृत्तिलाई प्रभावकारी कार्यान्वयनको लागि पहल गर्ने र छात्रवृत्तिलाई १० प्रतिशतबाट २० प्रतिशतमा वृद्धि गराई उक्त छात्रवृत्तिलाई अनिवार्य रुपमा शैक्षिक संस्थाहरुको वेबसाइट र सूथना पाटीमा सार्वजनिक गर्न मातहत कमिटीहरुलाई निर्देशन दिएको छ ।


त्यसैगरी आउँदै गरेको बजेटमा नेपाल सरकारको कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टयाउनका लागि दबाबमुलक कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।


विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिवर्तन गर्न र प्राज्ञिक स्वयतता कायम गर्नका लागि बोर्ड अफ ट्रष्ट गठन गर्नुपर्ने, प्राज्ञिक क्षेत्रको राजनीतिकरणलाई अन्त्य गर्दै विश्वविद्यालयका पदाधिकारीहरु तथा क्याम्पस प्रमुखहरु प्रतिस्प्रधात्मक प्रणालीबाट नियुक्त गर्न नीतिगत व्यवस्था गर्न दबाबमुलक अभियान सञ्चलन गर्ने भएको छ ।


त्यस्तै त्रिविमा सञ्चालन भएका प्राइभेट कार्यक्रमहरुलाई तत्काल नियमित कार्यक्रममा लैजान आवश्यक जनशक्ति तयार गर्न सरकार र सम्बन्धित विश्वविद्यालयलाई दबाब दिने निर्णय पनि भएको छ ।