भोलिदेखि अनलाइनबाटै एनओसी

काठमाडौं/३१ बैशाख–वैदेशिक अध्ययन अनुमति शाखाले भोलिदेखी अर्थात जेठ १ गतेदेखि अनलाइनबाटै एनओसी जारी गर्ने भएको छ । शाखाले सेवा प्रवाहलाई क्यास लेस, फेस लेस र पेपरलेस बनाउने उदेश्यले अनलाईनबाट एनओसी जारी गर्ने भएको हो ।


एपिआई मोडेल र पोर्टल मोडलको प्रयोग गरी अनलाइनबाटै एनओसी जारी गर्ने मन्त्रालयले जनाएको छ । एपिआई मोडल अन्र्तगत सरोकारवाला शैक्षिक संस्थाहरूको एपिआई इन्ट्रिग्रेड गरी अनलाइन रुपमा आवेदकले प्रविष्ट गरेका कागजातहरूको अटोनोमस भेरिफिकेशन हुनेछ ।


विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए नलिएको विवरण बैंक तथा वित्तीय संस्थाहरूले उनीहरूलाई उपलब्ध हुने युजर एकाउन्ट डिटेल्स् प्रयोग गरी अनलाइन नै प्रविष्ट गर्ने व्यवस्था गरिएको वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उलपब्ध वैदेशिक अध्ययनको स्वीकृति (नो अब्जेक्सन सर्टिफिकेट)सम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउने छन् ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ बमोजिम अनलाईनबाट एनओसी जारी गर्ने लागेको हो । निर्देशिकाको दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरेर वैदेशिक अध्ययन स्वीकृती पत्र डाउनलोड गर्न सक्ने गरी सेवा प्रवाहलाइ क्यास लेस, फेस लेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था रहेको छ ।


मन्त्रालयले जेठ १ गतेदेखि कार्यान्वयनमा लैजानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट उद्घाटन गरी अनलाइनबाटै एनओसी वितरणको सुरुवात गरिने शाखाले जनाएको छ । शाखाले २०७७ साल भदौ १२ गतेदेखि सेमी अनलाइन रुपमा एनओसी प्रदान गर्दे आईरहेको छ ।