तनहुँ/३ बैशाख-गाउँ कार्यपालिकाको बैठकबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय भएपछि आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । नयाँ शैक्षिकसत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका हुन् ।
गाउँपालिकाकाको निर्णय अनुसार अध्यक्ष शुक्र चुमानले आफ्ना छोराछारीलाई सामुदायिक विद्यालयमा भर्ना गरिसकेको प्रवक्ता प्रेम बहादुर गुरुङले जानकारी दिएका छन् । उनले अध्यक्षका दुई छोराछोरीलाई आँबुखैरेनी गाउँपालिका–२ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा कक्षा २ मा र छोरी अक्षरा चुमानलाई आँबुखैरेनी –३ स्थित रामशाह माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गराएको जानकारी दिए । अध्यक्ष चुमानका छोराछोरी यसअघि आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कुलमा अध्ययन गर्दथे ।
“सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने उदेश्यले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय गरि सबैले त्यसमा हस्ताक्षर गरेका छौं यसलाई अनिवार्य कार्यन्वयनमा ल्याउछौं” गाउँपालिकाका प्रवक्ता प्रेमबहादुर गुरुङ भने ।
हालसम्म कति जनप्रतिनिधिले सामुदायिक विद्यालयमा भर्ना गरे भन्ने विवरण नआएपनि केही जनप्रतिनिधिले छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गरेको उनको भनाई छ ।
गाउँपालिकाका ६ वडामा ३६ सामुदायिक विदालय सञ्चालनमा रहेका छन् । गुरुङले सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धि, विषयगत शिक्षकको अभाव रहेकोले त्यसको व्यवस्थापन गर्न पालिका लागेको बताए ।
त्यसैगरी सामुदायिक विद्यालयको आर्कर्षण बढाउन कक्षा ५ सम्मका विद्यार्थीलाई ड्रेस, झोला, जुत्ता र मोजा वितरण गरिएको बताए । यो वर्ष जनप्रतिनिधिका छोराछारीलाई सामुदायिक विद्यालयमा भर्ना अभियान थालेको र अर्को वर्ष कर्मचारी तथा शिक्षकका छोराछारीलाई पनि भर्ना गर्न लगाउने तयारीमा रहेको गुरुङले बताए ।