भाषा र डिप्लोमा अध्ययन गर्न जाने विद्यार्थीको एनओसीमा आजदेखी रोक

काठमाडौं /२७ चैत-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले भाषा अध्ययन र डिप्लोमा कोर्स गर्न जाने विद्यार्थीको एनओसीमा रोक लगाएको छ । वैदेशिक अध्ययन स्वीकृती सम्बन्धी निर्देशिका, २०७९ कार्यन्वयनमा ल्याएसँगै एनओसीमा रोक लगाएको हो ।


हिजोसम्म आवेदन दिएका विद्यार्थीको एनओसी जारी गरिएपनि हिजो वेलुकादेखि भाषा अध्ययन र डिप्लोमा कोर्सका लागि आवेदन दिएका विद्यार्थीहरुको एनओसीमा रोक लगाएको मन्त्रालय स्रोतले जनाएको छ ।


त्यसैगरी निर्देशिकाको दफा (२) अनुसार अद्यावधिक गर्नको लागि दफा १४ बमोजिमको समितिमा पेस गर्नको निमित्त विद्यार्थीहरुबाट आवेदन संकलन गर्ने कार्य प्रारम्भ भएको छ ।


साथै मन्त्रालयले भाषा अध्ययनमा विद्यार्थी जापान पठाउने शैक्षिक परामर्श संस्थाहरुले राजस्व नतिरेको बताउँदै त्यस्ता शैक्षिक परामर्श संस्थाहरुको विवरण संकलन गर्न थालिएको जनाएको छ । स्रोतले भन्यो ‘जापान विद्यार्थी पठाउने शैक्षिक परामर्श संस्थाहरुले राजस्व छलि गरेको पाइएको छ । त्यस्ता शैक्षिक परामर्श संस्थाहरुको नामावली संकलन गर्ने कार्य सुरु गरिएको छ ।’


जापान पठाउने केही शैक्षिक परामर्श संस्थाहरुले विद्यार्थीहरुसँग १५ लाखसम्म लिएर फिर्ता नगरेको विद्यार्थीको गुनासो आए पछि मन्त्रालयले नामावली संकालन गर्न थालेको हो ।


यता नेपालका विश्वविद्यालयमा विद्यार्थीहरुको संख्यामा घट्दै गएपछि विश्वविद्यालय अनुसन्धान आयोगले यसबारे चासो देखाएको छ । आयेगले यसबारे शिक्षा मन्त्रालयसँग छलफल अगाडी बढाउनुका साथै यसबारे अध्ययन गर्ने भएको छ ।
मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृती सम्बन्धी निर्देशिका, २०७९ कार्यन्वयनमा ल्याएपछि शैक्षिक परामर्श संस्थाका छाता संगठनहरुले विरोध गर्दै आएका छन् ।