काठमाडौं विश्वविद्यालयद्धारा कर्मसाधना सम्मानका लागि आवेदन माग

काठमाडौं/२७ चैत-काठमाडौं विश्वविद्यालयले कर्मसाधना सम्मानका लागि आवेदन माग गरेको छ । तीन जना व्यक्तित्वहरुलाई मात्र सम्मान प्रदान गरिने भएकोले छनोटका लागि आवेदन माग गरेको हो ।


रैथाने, क्लासिकल, पश्चिमा ज्ञान, विज्ञान, र प्रविधिका क्षेत्रमा काम गर्दै यी क्षेत्रको अन्तरसम्बन्ध, जोडाई, र अन्तर्संजालमा अनुसन्धान गरी पुस्तक मार्फत प्रचार प्रसार तथा अभिवृद्धि गरेर योगदान पु–याएका व्यक्तिहरुलाई उत्प्रेरित गर्ने उदेश्यले “कर्मसाधना सम्मान” गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।


शिक्षाविद् डा.विद्यानाथ कोइराला र काठमाडौँ विश्वविद्यालयबीच जनवरी १६, २०२३ मा भएको सम्झौता बमोजिम काठमाडौँ विश्वविद्यालयमा “कर्मसाधना सम्मान” स्थापना गरिएको हो । सम्मानका लागि प्राध्यापक कोइरालाको तर्फबाट रू तीस लाख प्राप्त भएको र अक्षयकोष खडा गरिएको विश्वविद्यालयकाजनाएको छ ।


अक्षयकोषबाट बर्षेनी प्राप्त हुने ब्याजबाट छनोट भएका सम्मानित व्यक्तिहरुलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ । यसरी खर्च गर्दा काठमाडौँ विश्वविद्यालय अक्षयकोष नीति अनुसार ब्याजको ५० प्रतिशत मात्रै उपयोग गरिनेछ । प्रत्येक वर्ष ३ जनालाई सम्मान प्रदान गरिने र योग्य व्यक्ति छनौट गर्दा कम्तिमा एकजना महिला पर्ने गरी गर्नुपर्ने प्रावधान रहेको छ ।


प्रत्येक वर्ष काठमाडौँ विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रमुख अतिथिको हातबाट यो सम्मान प्रदान गरिनेछ । त्यसैगरी यो वर्षका लागि सहभागि हुन विश्वविद्यालयले तोकेको योग्यता पुगेका व्यक्तिहरुले बैशाख १० गतेभित्र आवेदन दिनुपर्ने छ ।


सम्मानित को को हुन सक्ने ?


उल्लेख भएका क्षेत्रमा योगदान पु–याउने जो कोही पनि यो सम्मानको लागि प्रतिस्पर्धी हुन सक्नेछन् । विद्यार्थी, शिक्षक, अनुसन्धाता, रैथाने सीपमा कार्यरत रही आधुनिक ज्ञान, विज्ञान जोडेर समाजलाई अगाडि बढ्न उत्प्रेरित गर्ने जो कोही यस्तो सम्मान पाउन लायक ठहरिने छन् । साथै सम्मानको लागि व्यक्ति, समूह वा संस्था कुनै पनि योग्य हुन सक्नेछन ।


साधना सम्मान पाउने आधार


१. रैथाने ज्ञान–विज्ञान बारे जानकारी भएको ।


२. आधुनिक ज्ञान–विज्ञान बारे जानकारी भएको ।


३. शास्त्रीय (classical) विज्ञान –विज्ञान बारे जानकारी भएको ।


४. रैथाने ज्ञान–विज्ञान, शास्त्रीय र आधुनिक ज्ञान–विज्ञानबीच सह–सम्बन्ध कायम गरेको ।


५. रैथाने ज्ञान–विज्ञान, शास्त्रीय र आधुनिक ज्ञान–विज्ञानको सम्मिश्रण गरी प्रयोग गरेको ।


६. रैथाने ज्ञान–विज्ञान, शास्त्रीय र आधुनिक ज्ञान–विज्ञानको जोडाई विकास गरेको, डिजाइन गरेको, सिर्जना गरेको, प्रकाशन गरेको ।


७. रैथाने ज्ञान–विज्ञान, शास्त्रीय र आधुनिक ज्ञान–विज्ञानको जोडाइको प्रयोग÷परीक्षणबाट भएका कामबाट आफैंमा सकारात्मक योगदान अनुभव गरेको ।


८. रैथाने ज्ञान–विज्ञान, शास्त्रीय र आधुनिक ज्ञान–विज्ञानको जोडाइको प्रयोग/परीक्षणबाट भएका कामबाट आफ्ना विद्यार्थी, सहपाठी, परिवार, समाज, संस्थामा आएको सकारात्मक प्रभाव अनुभव गरेको ।


९. रैथाने ज्ञान–विज्ञान, शास्त्रीय र आधुनिक ज्ञान–विज्ञानको जोडाइको प्रयोग/परीक्षणबाट भएका कामबाट राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रभाव देखिएको ।


१०. रैथाने, शास्त्रीय, र आधुनिक ज्ञान–विज्ञानको क्षेत्रमा अनुसन्धान गर्दै रहेको ।


११. रैथाने, शास्त्रीय, र आधुनिक ज्ञान–विज्ञानको प्रचार–प्रसार गरी समाजलाई रैथाने ज्ञानको संरक्षण गर्न उत्प्रेरित गरेको ।

थप जानकारीका लागि यहाँ हेर्न सक्नु हुने छ ।

https://ku.edu.np/bidya-nath-koirala-endowment-fund

छनोटका लागि यहाँबाट आवेदन दिन सक्नुहुनेछ ।

https://forms.gle/7eXN4mKWkmQDFVwQ9