झुट्टा सरुवापत्रको आधारमा शिक्षक कायम गर्ने ६ जना विरुद्ध मुद्दा दायर

काठमाडौं/१२ चैत-नियुक्ति नै नभएको व्यक्तिलाई झुट्टा सरुवापत्रको आधारमा शिक्षक कायम गरेको पाईए पछि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारीले नियुक्ति नै नभएको व्यक्तिलाई झुट्टा सरुवापत्रको आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको आरोपमा उनी सहित ६ जना उपर मुद्दा दायर गरिएको हो ।


उजुरीका आधारमा अनुसन्धान हुँदा जिल्ला शिक्षा कार्यालय, बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले नियुक्तिपत्र नै नभएको गैरशिक्षकलाई पद तथा ओहदाको दुरुपयोग गरी विना कुनै कागजात नियुक्तिको अभिलेखीकरण गर्न प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई आफै स्वीकृत गरेको पाइए पछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।


भट्टले मनकाकुमारी अवस्थीलाई हुनैनाथ आधारभूत विद्यालय सल्सेनाको व्यवस्थापन समितिबाट नियुक्ति भएको भनी विना कुनै कागजात नियुक्तिको प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई आफै स्वीकृत गरी उक्त विद्यालयबाट बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरी तलब लगायतका सुविधाहरु निकासा दिई सार्वजनिक सम्पत्तिको बदनियतपूर्वक हानिनोक्सानी गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।


आयोगले ७४, हजार ९ सय २० हानिनोक्सानी गराएको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा सोही दफामा उल्लेख भए बमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम विगो ७४ हजार ९ सय २० कायम गरी कैद र विगो बमोजिमको जरिवाना हुन तथा सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको विगो निजबाट असुल उपर गर्न माग गरेको छ ।