महिलाले नेतृत्व गरेका सबै विद्यालय अब्बल

काठमाडौं/२४ फागुन–अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शिक्षामा महिलाको नेतृत्व र भूमिका सम्बन्धी अन्र्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । खबर एजुकेशन अनलाइनको आयोजना र संस्कृति इन्टरनेशनल स्कुलको सहयोगमा गरिएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत विज्ञान प्रविधि सचिव, खुला विश्वविद्यालयकी उपकुलपति, शिक्षाविद्, शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका र निरन्तर शिक्षा क्षेत्रमा लागेका महिलाहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा सल्लाहकार रेसु अर्याल ढुंगानाले शिक्षा ऐन नआएका कारण विद्यालय नियमन गर्न स्थानीय तहलाई अफ्ठेरो भएको बताईन । उनले सार्वजनिक विद्यालयका शिक्षकलाई तीन तीन महिनामा तलब दिने व्यवस्था राम्रो नभएको र यसका लागि स्थनीय तह र संघिय सरकारविच सहकार्य हुन नसक्दा शिक्षक मारमा परेको बताइन । साथै शिक्षकहरुलाई जिवन जिउन पुग्नेगरी सेवा सुविधा दिनुपर्नेमा उनको जोड थियो ।

अर्यालले निजी विद्यालय र सार्वजनिक विद्यालय विचमा दुरी रहेको,विभेद हुने गरेको बताउँदै यस्तै अवस्था रहिरहे विद्यार्थी स्वदेशमा नबस्ने र विदेश पलायन अझै बढ्न सक्ने धारणा राखिन । यसका लागि निजी विद्यालयले पनि समाजका लागि र सार्वजनिक विद्यालयका लागि साझेदारीमा काम गर्न आवश्यक रहेको उनको भनाई थियो ।


नेपाली कंग्रेसकी प्रतिनिधि सभा सदस्य माननीय प्रतिमा गौतमले शिक्षा क्षेत्रमा महिलाको नेतृत्व गर्ने संख्या धेरै हुनु राम्रो रहेको बताइन । शिक्षा ऐन बनाएर शैक्षिक गुणस्तरमा काम गर्न आवश्यक रहेको बताउँदै शिक्षा ऐनका लागि सबैले दबाब दिन आग्रह गरिन ।

शिक्षा मन्त्रालयकी विज्ञान प्रविधि सचिव प्रमिला बज्राचार्यले प्रारम्भीक बालविकास वा विद्यालय तह देखिनै उच्च तहसम्म महिलाहरुको नेतृत्व हुन आवश्यक रहेको बताउँदै त्यो सम्भव भए पनि महिला आउन नचाहेको बताइन । साथै अरु क्षेत्र संगै प्राविधिक क्षेत्रमा पनि महिलाहरुको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिइन । बज्राचार्यले स्टिम शिक्षालाई सबै विद्यालयमा अनिवार्य गर्न लागेको समेत जानकारी दिइन ।


खुला विश्वविद्यालयकी उपकुलपति प्रा.डा.शिलु मानन्धर बज्राचार्यले पछिल्लो सुचाङ्कमा महिलाहरुको नेतृत्व आउन थालेको बताउँदै नेपालमा पनि विकसित देशहरुको हाराहारीमा महिलाहरुको सहभागिता रहेको बताइन । उनले उच्च शिक्षामा ५३ प्रतिशत महिलाको सहभागिता रहेको र साच्चि कै महिलाको प्रतिनिधित्व गरेको छ कि छैन हेर्न आवश्यक रहेको बताइन ।

मानन्धर बज्राचार्यले शिक्षामा महिला नेतृत्व आउनका लागि सक्षम हुँदा हुँदै महिलालाई पछाडी पारिएको हो भने संघर्ष गरेर भएपनि अधिकारका लागि लड्नुपर्ने बताइन । साथै महिलाले आफुले आफुलाई चिन्नु पर्ने, क्षमता के हो चिन्न आवश्यक रहेको र त्यसै अनुसार नेतृत्वमा रहेर क्षमता प्रस्तुत गरेर उदाहरण बनेर देखाउन सबै महिलालाइ आग्रह गरीन ।


महिलाहरु नेतृत्वमा पुगेपनि धेरै संघर्ष गर्नुपर्ने बाध्यता रहेको नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले बताइन । उनले आफु ४० सालदेखि शिक्षण पेशामा आवद्ध रहेर यहाँसम्म आएको बताउँदै हरेक क्षेत्रमा महिला नेतृत्व आउनुपर्नेमा जोड् दिइन । आफु अध्यक्ष भइसकेपछि शिक्षक संघठनहरुमा धेरै महिलाहरु नेतृत्वमा आउनका लागि तयार भएको उनको भनाइ थियो । उनले भनिन “हरेक क्षेत्रमा नेतृत्व लिन महिला तयार हुनुपर्छ । आफु सक्षम भएर पनि अधिकार दिएनन भने खोसेर भएपनि लिनुपर्छ ।”


विद्यालयहरुको हरेक कुरामा पुनः निर्माण गर्न आवश्यक रहेको र त्यसलाई स्थानीय तहले नियमन, अनुगमन गर्न आवश्यक रहेको बालविशेषज्ञ सानु अमात्यको भनाई थियो । प्याब्सन उपाध्यक्ष दीपिका थापा रिमालले परीवर्तनका लागि महिला नै अग्रसर हुन आग्रह गर्दै प्यब्सनमा महिला विभाग आफुले समालेको र महिला सम्बन्धी कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन ।


संस्कृति इन्टरनेशनल स्कुलकी फाउण्डर डाइरेक्टर दीप्ति क्षेत्री आचार्य महिलाहरुलाई प्राविधिक शिक्षामा केन्द्रित गर्नुपर्ने र महिला र प्रविधिलाई महत्वका साथ अगाडि बढाउनु पर्नेमा जोड् दिइन । इम्पेरीयल वल्र्ड स्कुलकी डाइरेक्टर जुनिता शाहि कार्कीले प्राइभेट र पब्लीक स्कुलको साझेदारी गर्न सकियो भने मात्रै शैक्षिक गुणस्तर ल्याउन सकिने बताउँदै त्यसै अनुरुप महिला नेतृत्वलाई पनि अगाडी बढाउन आवश्यक रहेको भनाई राखिन ।


आफुले अक्षरा स्कुलमा संस्कार सहितको शिक्षा अभियानलाई प्रथमिकताका साथ पढाइरहेको र त्यसले बालबालिकामा प्रभाव परीरहेको बताउँदै महिला नेतृत्वले कुनै न कुनै एउटा माइनसेटमा काम गर्न अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्ठराइले आग्रह गरिन ।


महिला शिक्षा समाजकी केन्द्रीय अध्यक्ष डा. जानुका नेपालले विद्यालय क्षेत्रमा महिला नेतृत्व विकास कसरी गर्न सकिन्छ त्यसमा ध्यान दिन आवश्यक रहेको बताइन । उनले भनिन “निजी विद्यालयका महिला नेतृत्वहरु हरेक कुरामा अगाडि छन् तर सार्वजनिक विद्यालयमा महिला नेतृत्वको अभाव छ । यसलाई कसरी विकास गर्न सकिन्छ त्यसमा ध्यन दिनु पर्यो ।” उनले महिलाले नेतृत्व गरेका सबै विद्यालय अब्बल रहेको बताउँदै महिलाले इमान्दार र लगनशिल भएर काम गरेकै कारण त्यो सम्भव भएको भनाइ राखिन ।


काठमाडौं विश्वविदालय स्कुल अफ एजुकेशनकी डा. पार्वती ढुंगाना, काठमाडौं वल्र्ड स्कुलकी समा क्षेत्री र सुदेशा स्कुलकी फाउण्डर प्रिन्सिपल बिरंगना महर्जनले महिलाहरुलाई नेतृत्वमा ल्याउन नेतृत्व गरीरहेका महिलाहरुले सहयोग गर्नुपर्ने र आफु रोल मोडल भएर देखाउन आवश्यक रहेका बताए ।


डि.भि एजुकेशन (ट्रिटन कलेज)की सिइओओ ऋतु न्यौपानेले डिभि एजुकेशनले महिलालाई नै नेतृत्वमा राख्ने व्यवस्था गरेको उदाहरण दिँदै शिक्षासँगै महिलाले म गर्न सक्छु भन्ने भावनाका साथ अगाडी बढ्नुपर्नेमा जोड दिइन । प्रविधि मैत्री शिक्षक समाज ललितपुरकी उपाध्यक्ष तथ सामाजिक विषयकी शिक्षक मनिता श्रेष्ठले महिलाले गर्न सक्दैनन, समय व्यवस्थापन गर्दैनन् जस्ता दृष्टिोणले हेरिएका कारण महिला नेतृत्वमा आउन नसकेको धारणा राखिन । यसका लागि विद्यालय तहदेखि नै लैंगिक समानताको बारेमा पढाउन आवश्यक रहेको उनको भनाई थियो ।

संस्कृति इन्टरनेशनल स्कुलकी प्रिन्सिपल तिमिला श्रेष्ठले एउटा नारी भएर अर्को नारीलाई उठाउन आवश्यक रहेको धारणा व्यक्त गरिन । त्यसैगरी महिलालाई दबाएर होइन उठाएर नेतृत्वमा पु¥याउनुपर्ने फेरील्यण्ड इन्टरनेशनल स्कुलकी सिनियर इञ्चर्ज सुस्मा पाण्डेको भनाई थियो । नेपाल खुला विश्वविद्यालयकी श्रद्धा कुँवरले विद्यालयले संस्कार र नैतिक शिक्षामा ध्यान दिन आवश्यक रहेको भनाइ राख्दै महिला र पुरुष विचको विभेदबारे विद्यालय तह देखिनै सिकाउनुपर्नेमा जोड दिइन ।
स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन)की निर्वतमान उपाध्यक्ष गिता रिजालले एकल महिला भएर नेतृत्व समाल्न कठिन रहेको बताउँदै महिलाले महिलालाई सहयोग गर्नुपर्नेमा जोड् दिइन । उनले एकल महिला हुँदा सबैले त्यस्तै दृष्टिकोणले हेने गरेको र यसमा महिला संसदले ध्यान दिनुपर्ने बताइन ।


नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर सम्मानित


अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शिक्षामा महिलाको नेतृत्व र भूमिका सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलाई सम्मान गरिएको छ । खबर एजुकेशन अनलाइनको आयोजना र संस्कृति इन्टरनेशनल स्कुलको सहयोगमा गरिएको कार्यक्रममा तुलाधरलाई सम्मान गरिएको हो ।


२०४० सालदेखि शिक्षक पेशामा लाग्नुभएको तुलाधर नेपाल शिक्षक महासंघको नेतृत्व समाल्दै अहोरात्र खट्दै दियोझैं आफु बलेर अरुलाई उज्यालो बाँडिरहेकी छन् । उनी नेपाल शिक्षक महासंघको पहिलो महिला अध्यक्ष हुन् ।


निःस्वार्थी भावना भएकी तुलाधर शिक्षकहरुका माग र मुद्धाका लागि निडर भएर लड्ने महिला नेतृत्व हुन् ।