धमाधम स्थानीय पाठ्यक्रम निर्माण गर्दै विजयनगर गाउँपालिका

रविन घिमिरे, लुम्बिनी
कपिलवस्तु/१३ फागुन-कपिलवस्तुको विजयनगर गाउँपालिकाले धमाधम स्थानीय पाठ्यक्रम निर्माणको काम गरिरहेको छ । कक्षा १–८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरी आउँदो शैक्षिक सत्रबाट नै लागू गर्ने गरी काम थालिएको विजयनगर गाउँपालिकाका शिक्षा अधिकृत हरिहर बेल्बासेले जानकारी दिए ।


स्थानीय पाठ्यक्रम नहुँदा विद्यालयले अन्य विषयलाई शिक्षण गर्न बाध्य भएको र पाठ्यक्रम बनेपछि शिक्षण सहज हुने विश्वास लिइएको छ । पाठ्यक्रममा विजयनगर गाउँपालिकाभित्र रहेका महत्वपूर्ण स्थल, प्राकृतिक, ऐतिहासिक सम्पदा, विभिन्न संस्कृति, धर्म, पेसा, उद्योगलगायत कपिलवस्तु जिल्लाभित्रका सम्पदा समेटिएका छन् ।


यसैगरी स्थानीय जडिबुटी, परम्परागत र आधुनिक प्रविधि, योग, असल व्यवहार लगायतका विषयवस्तु पनि समेटी तोकिएको ढाँचामा पाठ्यक्रम निर्माण भइरहेको छ । स्थानीय पाठ्यक्रम निर्माणका लागि पूर्व जिल्ला शिक्षा अधिकारी एवम् नेपाल सरकारका पूर्व सचिव बाबुराम भट्टराईको नेतृत्वमा गाउँपालिका शिक्षा अधिकृत हरिहर बेल्बासे र विभिन्न विद्यालयका विज्ञसहितको टोली सक्रिय रुपमा लागिपरेको छ ।


गाउँपालिकाले पाठ्यक्रमसम्बन्धी सुझाव दिन समेत अनुरोध गरेको छ ।