अष्ट्रेलिया/२१ माघ-अष्ट्रेलियामा आउने नेपालीहरू चाहे स्टुडेन्ट भिजामा होस् या नेपालबाट नै पीआर लिएर, उनीहरूको सुरूवाती दिनका अनुभवहरू खासै फरक हुँदैनन् । तर, स्टुडेन्ट भिजामा आउनेलाई पीआर लिएर आउनेलाई भन्दा आर्थिक दबाब बढी हुन्छ । अष्ट्रेलियामा आईसकेपछी सबैभन्दा सुरूमा नै उनीहरूलाई पर्ने समस्या भनेको काम र कोठाको हो । हुन त नेपालबाट आउनेहरूले आफन्त वा साथीभाईसँग सुरूवाती दिनमा सहयोगको लागि व्यवस्था मिलाएर नै आएका हुन्छन् । तर पनि अष्ट्रेलियामा काम र कोठाको बन्दोबस्ती मिलाउनको लागी सजिलो भने छैन ।
नेपालीहरू मात्र नभएर अष्ट्रेलिया आउने सबैले सुरूमा बस्नको लागी गर्ने व्यवस्था भनेको अरूसँग मिलेर युनिट वा घर भाडामा लिएर बस्ने हो । किनभने त्याहा युनिट तथा घर लिनको लागी निश्चित कमाईको निश्चितता रियल स्टेट एजेन्टले खोज्दछ । जुन सुरूमा नै नहुनपनि सक्छ, त्यसमा पनि घरभाडा सस्तो छैन । साताको ५००– ६०० डलर भाडा लाग्ने भएकाले चलन चल्तिको भाषामा ’सेयरिङ’ नै यहाँको बसाईंको शैली बनेको छ ।
’सेयरिङ’मा बस्दा टिभी, फ्रिज, माईक्रोवेभ, वासिङ मेसिन देखी खाना बनाउने भाँडाहरू साझेदारी गरेर चलाउन पाईन्छ । चलाउन दिने चलन छ । त्यसैले भरखर भरखर आउने स्टुडेन्टहरूका लागि ’सेयरिङ’ सजिलो शैली हो । त्यसो त कमाई र खर्चको सम्बन्धलाई सकारात्मक राख्नको लागी धेरैलाई यो बसोबासको शैली सहज छ । हुन त नेपाली बाहेक अरूको पनि बसोबासको शैली यही नै हो ।
यसरी बस्नु सजिलो भएपनि कतिपयको बानी र व्यवहार सही मिल्न सकेन भने ’सेयरिङ’ सबैको लागी उस्तै तरिकाले सहज चाहीँ हुँदैन । नेपालीहरूको बसोबासको कुरा गर्ने हो भने पीआर भएका र केही वर्ष पहिले आएकाले भरखर भरखर आएकाहरू प्रति देखाउने व्यवहारले पनि कतिपयको ’सेयरिङ’को बसाईं नराम्रो अनुभवका साथ सुरू हुन्छ । तर एक आपसमा असल सम्बन्ध र व्यवहार देखाउने हो भने ’सेयरिङ’नै अष्ट्रेलियामा संवृद्धीको सुरूवात पनि हुनसक्छ । ’सेयरिङ’का धेरै फाईदा छन् तर यसरी साझे गरेर घर तथा युनिटमा बस्दा भुल्नु नहुने कुरा ’सेयरिङ ईज केयरिङ’ हो । मतलब ’सेयरिङ’मा बस्नेले आफुसँग बस्नेको सुगमता र सहजताको बारेमा पनि ख्याल गर्नुपर्छ । अष्ट्रेलियन समाज नै आफ्नो कारण अरूलाई असजिलो त भएको छैन भनेर ख्याल गर्ने समाज हो । जसलाई अष्ट्रेलिया आएकाहरूले अपनाउनु पनि पर्छ ।
’सेयरिङ’मा बस्दा यदी खराब बानी, व्यहोरा भएका साथीभाई परे भने त्यसले बसाईंको अनुभव मात्र होईन, काम, पढाई र व्यक्तित्वमा नै नकारात्मक असर पार्दछ । स्वदेश वा विदेश जहाँभएपनि एउटा खराब संगत र बसाईं हानिकारक नै हुन्छ । त्यसैले ’सेयरिङ’मा बस्दा केही यस्ता कुरामा ध्यान दिनुपर्छ जुन सामान्य नै लाग्छन् तर असर भने असामान्य छोड्छन् ।
सेयरिङमा बस्दा ध्यान दिनुपर्ने कुराहरू
के गर्ने ?
’सेयरिङ’मा बस्नु अघि आफुले कोठाभाडा, पानी, बिजुली, ईन्टरनेटको कति शुल्क तिर्नुपर्ने हो र के के चिजहरू चलाउन पाउने हो त्यसको निश्चित गरेर बस्नुस् ।
’सेयरिङ’मा बस्दा साथीभाई वा आफन्त वा अन्य पहिले नै चिनजान नभएकाहरूसँग पनि बस्न सकिन्छ, तर यसरी बस्दा व्यक्तिगत गोपनियताका बारेमा तपाईंले ख्याल गर्नुपर्छ । तपाईंलाई जस्तै अरूलाई पनि आफ्नो गोपनियतामा उत्तिकै चासो हुन्छ ।
आफुसँग बस्ने साथीभाईसँग आफ्नो त्यति मात्र कुराहरू सेयर गर्नुस् जति आवश्यक छ । व्यक्तिगत सूचनाको गलत फाइदा उठाउनेको संख्या पनि कम छैन अष्ट्रेलियामा । आफ्नो काम र कमाईको बारेमा पनि कमै मात्र खुल्नुस् ।
यदी रूम सेयरिङमा बस्नुहुन्छ भने वार्डरोव साथै अन्य प्रयोगका सामानहरू चलाउँदा दुवैजनाको सहमती र सल्लाह गरेर पालो वा प्रयोगको सर्तहरू तय गर्नुस् ।
’सेयरिङ’मा बस्दा घर, युनिट तथा कोठामा बस्दा हुने टुटफुट तथा बिगारको भागिदार तपाईं पनि हुने भएकाले तिनको प्रयोग र उपयोग आफ्नो जस्तै गरेर गर्नुस् र सँगै बस्नेलाई पनि त्यसबारे जानकार गराउनुस् ।
’सेयरिङ’मा सँगै बस्नेसँग मित्रवत् र असल सम्बन्ध बनाउनमा जोड दिनुस् । उनीहरूलाई आवश्यक परेको समयमा साथ, सहयोग दिन नचुक्नुस् । किनभने अष्ट्रेलियामा घर र आफन्त भन्दा टाढा बस्दा तपाईंको परिवार र आफन्त भनेको सँगै बस्ने साथिभाई, दिदीबहिनी नै हुन् । उनीहरूसँग सम्मान, माया र मित्रवत् सम्बन्ध राख्नु दुवैको लागी हितकारी हुन्छ ।
’सेयरिङ’मा साथै बस्नेहरूलाई तपाईंको बानी, व्यवहारले केही फरक परेको छ, छैन पनि सोध्नुस् । मिले सम्म आफ्नो बानी र व्यवहार उनीहरूको लागी पनि सहज बनाउनुस् । उदाहरणको लागी कामको सिफ्ट र जाने समयबारे कुराकानी गरेर, बाथरूम तथा खाना बनाउने समय छलफल गरेर फरक फरक पार्न सकिन्छ ।
सँगै बस्दा घर, युनिट तथा कोठा साप्ताहिक पालो मिलाएर सफा गर्ने गर्नुस् । मिलेर कसैले भुईंमा मोप गर्ने, कसैले भ्याकुम लगाउने तथा कसैले भित्ता, ढोका, टेबल पुछ्ने गर्न सकिन्छ । बाथरूम र घरको भित्री र बाहिरी भाग सफा राख्नमा सँधै सतर्क हुनुस् र मिलेर यसको लागी पालो वा जिम्मेबारी बाँढफाँढ गर्नुस् ।
एउटै घर, युनिट तथा कोठामा बस्नेहरू बीच यदी पढाई, युनिभर्सिटी, कलेज मिल्छ भनेर सँगै मिलेर पढ्नुस् । समुहमा पढ्दा एक अर्काबाट नयाँ कुरा जानिने सम्भावना हुन्छ ।
सकेसम्म सँगै बस्नेहरू बीचको कुराकानीको भाषिक माध्यम अंग्रेजी बनाउनुस्, ताकी अंग्रेजीसँग सजिलो महशुस होस् । टेलिभिजन तथा फिल्म हेर्दा पनि सक्दो अंग्रेजी भाषामा जोड दिनुस् ।
अरूको सामान चलाउँदा ध्यान दिनुस्। आफूले चलाउँदा त्यसमा खराबि भए त्यसको सोधभर्ना (रिप्लेस) गर्नुस्।
के नगर्ने !
सँगै बस्ने र दाजुभाई वा दिदीबहिनी वा साथी साथीको जस्तो सम्बन्ध भएपनि निजी र व्यक्तिगत सम्बन्ध र कुराहरूमा चासो नदिनुस् ।
आफूलाई जसरी नै कुनै कुराहरू अरूलाई पनि मन नपर्न सक्छ त्यसैले त्यस्ता कुराहरु नगर्नुस् जसले तपाईंसँग कोठा, युनिट वा घर सेयर गरेर बस्ने अरूलाई चित्त दुख्छ ।
पर्सनल हाईजेन र घरको सरसफाईका विषयमा वेवास्ता नगर्नुस् । बाथरूम, लाउन्ज, किचन प्रयोग गरिसकेपछी सफा गरेर छाड्नुस् । सिंकमा जुठा भाँडा, डाइनिङ टेबलमा पोखिएका खानाका टुक्रा, लण्ड्रीमा फोहर कपडा, बाथरूममा रौं तथा नुहाउँदाका फिंजहरू छोड्ने नगर्नुस् ।
बाथरूम चिसो र पानी पानी भएको अवस्थामा नछोड्नुस् । अष्ट्रेलियामा बाथरूम सुख्खा नै राख्ने चलन छ । तपाईंले चिसो र भिजेको अवस्थामा छोड्दा सँगै बस्ने अर्को चिफ्लेर लड्ने संभावना धेरै हुन्छ ।
चर्को आवाजमा कुराकानी, गित, संगित सुन्ने तथा टेलिभिजन हेर्ने र राती ढिलोसम्म हल्ला खल्ला गरेर बस्ने नगर्नुस् । सबैलाई काममा सही समयमा पुग्नुपर्छ अनि निन्द्रा पनि पुरयाउनु पर्छ ।
ढोका खोल्दा बन्द गर्दा ठूलो आवाजले ’ढ्याम्म’ हुने गरी नगर्नुस् । यसले सँगै बस्ने मात्र नभएर अर्को युनिट सम्म ’डिस्टर्ब’ गर्छ ।
खबर एजुकेशन र नेपाली पेज शैक्षिक समाचारका लागि साझेदारी अनलाईन पोर्टल हुन । अष्ट्रेलियाको सबै जानकारी बारे नेपाली पेज अनलाइन पोटमा हेर्न सक्नु हनेछ ।



