काठमाडौं/१५ माघ-शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले आगामी वर्षको शैक्षिक सत्र वैशाख एक गतेदेखि सञ्चालन हुने जनाएको छ ।
शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ८४ (१) बमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको माघ ६ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार २०८० को विद्यालय तहको आगामी शैक्षिक सत्र वैशाख १ गतेदेखि सञ्चालन गर्ने भएको हो ।
केन्द्रले विद्यालय तहको आगामी शैक्षिक सत्र बैशाखदेखि प्रारम्भ भई चैत मसान्तसम्म कायम हुनेगरी सोको जानकारी स्थानीय तह मार्फत विद्यालयमा गराई सहजीकरण गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।




