काठमाडौं/१२ माघ–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘वैदेशिक अध्ययन स्विकृति व्यवस्थापन निर्देशिका २०७९’ ल्याउने भएको छ । स्विकृतिको अन्तिम चरणमा रहेको निर्देशिका शैक्षिक परामर्श संस्था र एनओसीलाई व्यवस्थित गर्नका लागि ल्याउन लागिएको हो ।
शैक्षिक परामर्श संस्थाहरुको क्रियाकलापलाई नियमन गर्न, उनीहरुलाई जिम्मेवारी बनाउन र राजस्व छलि नहोस भनेर निर्देशिका ल्याउन लागिएको मन्त्रालय स्रोतले जनाएको छ । साथै निर्देशिका जारी भएर कार्यन्वयनमा आएपछि शैक्षिक परामर्श संस्थाहरुको सम्पुर्ण विवरण वैदेशिक अध्ययन अनुमति शाखामा समेत रहने छ ।
शैक्षिक परामर्श संस्थाले कुन विश्वविद्यालयमा वा कलेजमा, कुन देशमा, कहिले, कति विद्यार्थी पठायो सम्पूर्ण विवरण राखिनुका साथै अध्यागमन विभागसँग, बैंकसँग, नेपालका विश्वविद्यालयहरुसँग, राष्ट्रिय परीक्षा बोर्ड लगायतसँग अनलाइन मार्फ सम्पूर्ण विवरण इन्ट्रिग्रेड गरीने भएको छ । यसरी विवरण राखिएपछि विद्यार्थीलाई तलमाथी भए, अलपत्र परे शैक्षिक परामर्श संस्था नै जिम्मेवारी हुने मन्त्रालय स्रोतको भनाई छ ।
निर्देशिका अनुसार शैक्षिक कार्यक्रम छनोट गरी विभिन्न विवरण र एनओसीको आवेदन शैक्षिक परामर्श संस्थाले भरीदिएको खण्डमा विद्यार्थीको सम्पूर्ण जिम्मेवारी शैक्षिक परामर्श संस्थाको नै हुने र जिम्मेवार लिन्छु भनेर भर्नुपर्ने उल्लेख गरिएको छ । साथै त्यसरी शैक्षिक परामर्श संस्थाहरुले भरेर विद्यार्थी अलपत्र परेको खण्डमा समेत शैक्षिक परामर्श संस्था नै जिम्मेवारी हुने र त्यसैका आधारमा छानविन गरी शैक्षिक परामर्श संस्थालाई कारवाही गरीने निर्देशिकामा भनिएको छ ।
छानविन तथा जाँचबुझ सम्बन्धी समिति बनाइने
शैक्षिक परामर्श संस्थाहरुले नक्कली नागरीता, नक्कली आईडी र नक्कली एनओसी बनाएर विद्यार्थीसँग पैसा असुलेपछि मन्त्रालयले छानविन तथा जाँचबुझ सम्बन्धी समिति बनाउने गरी निर्देशिका जारी गर्न लागेको हो । विद्यार्थीहरुले बैदेशिक अध्ययन अनुमति शाखामा दिएको निवेदनालई हेर्ने हो भने शैक्षिक परामर्श संस्थाहरुले मनपरी गरेको र भुलबस गल्ती भएको भन्दै निवेदन दिएका छन् ।
निर्देशिका अनुसार मन्त्रालयले जाँचबुझ हुनुपर्ने देखिएका निवेदनका सम्बन्धमा छानविन तथा जाँचबुझ गर्न शाखा प्रमुख संयोजक रहनेगरी एक समिति निर्माण गर्नेछ । निवेदनमा संलग्न कागजातहरुको आधिकारीकता जाँचबुझ गर्दा समितिबाट सम्बन्धित राजदुत वा कुटनीतिक नियोग वा शिक्षण संस्था वा कागजातसँग सम्बन्धित आधिकारीक कार्यालय तथा पदाधिकारीसँग पत्रचार, इमेल,टेलिफोन गरी वा वेवसाइटबाट तथ्यहरुको सत्यापन गर्न सक्नेछ । यदी जाँचबुझ समितिले संलग्न विवरण वा कागजात झुट्टा पाएमा सो निवेदन रद्दगर्न सिफारिस गर्नेछ ।
स्विकृति पत्र परामर्श समिति
एनओसी लगाएत विभिन्न तहमा शैक्षिक परामर्श संस्थाहरुले नक्कली धन्दा गरेपछि मन्त्रालयले परामर्श समिति बनाउने भएको छ । स्विकृति पत्र सम्बन्धी कार्यमा सहजीकरण, समन्वय तथा कार्य समिक्षा गरी मन्त्रालय समक्ष सुझाब प्रस्तुत गर्न स्विकृति पत्र परामर्श समिति निर्माण गर्ने भएको हो ।
शैक्षिक परामर्श संस्थाका कारण विद्यार्थी अलपत्र परे वा कुनै विदेशी देशमा युद्ध लगाएत विभिन्न प्राकृतिक प्रकोप भए वा कुनै कलेज, विश्वविद्यालयका कारण विद्यार्थीलाई अफ्ठेरो परेको खण्डमा एनओसी जारी गर्ने नगर्ने समितिले निर्णय गर्नेछ । समितिमा उच्च शिक्षा माहाशाखाका सहसचिव संयोजक रहने छन् । बाँकी सात जना सदस्य र एक जना सदस्य सचिव रहने छन् ।
समितमा त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक, राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १२)का परीक्षा नियन्त्रक, कानुन तथा फैसला कार्यान्वयन शाखाको मन्त्रालयको उपसचिव, शैक्षिक प्रविधि तथा विद्युतीय सुशासन शाखाको उपसचिव स्तरको एक जना, परराष्ट्र मन्त्रालयको उपसचिव स्तरको एक जना, नेपाल राष्ट्र बैंकको उपसचिव स्तरको एक जना, अध्यागमन विभागको उपसचिव स्तरको एक जना सदस्य रहने व्यवस्था गरेको छ । साथै वैदेशिक अध्ययन अनुमति शाखाको उपसचिव सदस्य सचिव रहने छन् ।



