नवलपरासी/३० पुस-शिक्षक सेवा आयोग सामुदायिक विद्यालयमा कार्यरत प्रावि, निमावि र मावि तहका स्थायी शिक्षकहरु नियुक्तिको लागि सिफारिस गर्ने नेपाल सरकारको आयोग हो । आयोगले शिक्षा ऐन र नियमावलीको अधिनमा रहि शिक्षक सेवा आयोग नियमावली निर्माण गरी परीक्षा सञ्चालन गर्दछ । यसरी सञ्चालन गरीने परीक्षा प्राथमिक तहमा जिल्लागत र निमावि तथा मावि तहमा प्रदेश स्तरीय परीक्षा र नतिजा प्रकाशन गर्दै आएको छ ।
कुनै तहमा कासमुमा एउटा जिल्लामा ५४ अङ्क प्राप्त गर्ने उम्मेदवार बढुवा हुने तर अर्को कुनै जिल्लामा ९४ अङ्क प्राप्त गर्ने उम्मेदवार असफल हुने प्रणाली कसरी उपयुक्त र न्यायपूर्ण हुन्छ ?
यसैगरी विभिन्न तहमा कार्यरत स्थायी शिक्षकहरुको तहगत बढुवाको आन्तरिक प्रतिस्पर्धा र कासमुको मुल्यांकन पनि जिल्लागत रुपमा गर्ने गर्दछ । खुला तथा आन्तरिक दुबै परीक्षा एवं मुल्यांकन प्रणाली योग्य शिक्षकहरुका लागि अन्यायपूर्ण छ । कुनै तहमा कासमुमा एउटा जिल्लामा ५४ अङ्क प्राप्त गर्ने उम्मेदवार बढुवा हुने तर अर्को कुनै जिल्लामा ९४ अङ्क प्राप्त गर्ने उम्मेदवार असफल हुने प्रणाली कसरी उपयुक्त र न्यायपूर्ण हुन्छ ? अर्को तर्फ खुला भन्दा आरक्षणको संख्या बढी हुनु कानुन विपरीत छ (माध्यमिक तह बिज्ञापन २०७९ पौष) । आरक्षणबाट पूरा हुन नसकेका शिक्षकहरुको पदपूर्ति खुलामा समायोजन गरी गर्नु पर्दछ ।
शिक्षक सेवा आयोगले समान तह र श्रेणी एवं सेवा सुविधाका लागि लिइने एउटै प्रश्नपत्रको परीक्षाको नतिजा जिल्लागत र प्रदेशगत नतिजामा कुनै एउटा जिल्लामा विषयगत परीक्षामा ८० अङ्क प्राप्त गर्ने उम्मेदवार असफल वा अयोग्य हुने तर अर्को जिल्लामा ६० अङ्क प्राप्त गर्ने उम्मेदवार प्रथम हुने अवस्था छ । यति मात्रै होइन, एउटा जिल्लामा उच्च अङ्क ल्याउँदा पनि सफल नहुने तर अर्को जिल्लामा त्यतिनै अङक ल्याउन नसकी माग भएको संख्यामा उम्मेदवार उत्र्तीण हुन नसक्ने अवस्थाले योग्य व्यक्ती पाखा पर्ने र कमजोरहरुको सिफारिस गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।
“शिक्षण कार्यका लागि जिल्ला होइन, समग्र देशभरमै योग्य व्यक्तिको राष्ट्रिय रुपमा परीक्षा लिने र उच्चतम अङक प्राप्त गर्ने उम्मेदवारहरुलाई मेरिट लिस्टको आधारमा जिल्लागत आवश्यकताको आधारमा सिफारिस गरिनु पर्दछ ।”
शिक्षण कार्यका लागि जिल्ला होइन, समग्र देशभरमै योग्य व्यक्तिको राष्ट्रिय रुपमा परीक्षा लिने र उच्चतम अङक प्राप्त गर्ने उम्मेदवारहरुलाई मेरिट लिस्टको आधारमा जिल्लागत आवश्यकताको आधारमा सिफारिस गरिनु पर्दछ । यो प्रणाली आरक्षण एवं बढुवा व्यवस्थामा पनि लागू गरिनु पर्दछ । शिक्षक सेवा आयोगले ढिला नगरी आफ्नो नियमावली संशोधन गरेर परीक्षा प्रणालीमा सुधार ल्याउनै पर्छ ।
सामुदायिक विद्यालयाका स्थायी शिक्षक नियुक्तिको सिफारिस गर्ने आयोगले जे जसरी भए पनि योग्य शिक्षकलाई प्राथमिकता दिनु पर्छ । एउटै तह, एउटै पाठ्यक्रम, एउटै प्रश्नपत्र , समान सेवा सुविधाका लागि लिईने परीक्षामा प्रदेश र जिल्लागत अवधारणाले दक्ष उम्मेदवारहरु मर्कामा त परेकै छन् कमजोर व्यक्तिको सेवा प्रवेशले शैक्षिक गुणस्तरमा समेत नकारात्मक असर पर्ने देखिन्छ ।
अर्को तर्फ स्थायी शिक्षकको वैकल्पिक सुचिमा रहेका उम्मेदवारहरुलाई तत् तत् तहमा दरबन्दी रिक्त भएमा अर्को विज्ञापनमा उनिहरुलाई स्वतः स्थायी नियुक्ति दिएर बाँकी संख्यामा मात्रै बिज्ञापन गरीनु पर्दछ । एउटै तहका लागि सबै प्रक्रियामा सहभागी भएर सफल भएका तर वैकल्पिक उम्मेदवारहरुलाई पटकपटक किन परीक्षा लिने ? यो पनि अन्यायपूर्ण नै हुनेछ । यस्ता प्राविधिक समस्याहरुमा आयोगले ध्यान पुर्याओस् । शिक्षक सेवा आयोग कर्मकाण्डी मात्रै नबनोस्, योग्य शिक्षक सिफारिस गर्ने योग्य थलो बनोस् ।
– कुसुम न्यौपाने संयोजक,स्थायी शिक्षक हकहित मञ्च,नवलपरासी (पुर्व)



