नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृतविरुद्ध अख्तियारले हाल्यो मुद्दा

काठमाण्डौं/५ फागुन– नक्कली शैक्षिक प्रमाणपत्र बुझाई जागिर खाएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकृत शालिकराम खनालविरुद्ध मुद्दा दायर गरेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्रको भरमा २०५३ साल जेठ १ गते देखि खनालले जागिर गर्दै आईरहेको र पदको लाभसुविधा लिई त्यसको दुरूपयोग गरेको हुनाले कारवाहीको माग गर्दै उनीविरूद्ध आईतबार विशेष अदालतमा मुद्दा चलाइएको हो ।
झुठ्ठा विवरणको आधारमा तत्कालीन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा राप अन तृतीय श्रेणीमा नियुक्ति भएको भन्ने सूचना पाए लगत्तै अख्तियारले छानविन गर्दा उनले बिहार संस्कृत शिक्षा बोर्ड पटना भारतबाट पास गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टी भएको अख्तियारले आईतबार प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।
अख्तियारले शालिकराम खनाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुनुपर्ने माग गर्दै विशेष अदालतमा आरोपपत्र सहित मुद्दा दायर गरेको छ ।