काठमाडौं/२ फागुन—शिक्षक सेवा आयोगले बिहीबार सामान्य परीक्षाको नयाँ पाठ्यक्रम पारित गरेको छ ।
आयोगले शिक्षक हुनका लागि सामान्य र विषयगत परीक्षा दिनुपर्ने नियमावलीको १० औं संशोधनले गरेको व्यवस्था अनुसार सामान्य परीक्षाको नयाँ पाठ्यक्रम पारित गरेको हो । १ सय पूर्णङ्कको उक्त पाठ्यक्रममा सामान्य ज्ञान, आधारभूत ज्ञान, सूचना तथा सञ्चार, संविधान ऐन तथा नियम र वौद्धिक परीक्षा समावेश गरिएको छ । आयोगले यसअघि लिने परीक्षामा शिक्षा सम्बन्धि आधारभूत ज्ञान र ऐन नियमबाट मात्रै प्रश्न सोधिन्थ्यो ।
अब शिक्षक हुनका लागि हरेक उम्मेद्वारले २ सय पूर्णङ्कको जाँच दिनुपर्ने छ । आयोगका अनुसार सामान्य परीक्षा पास भएको उम्मेद्वार मात्रै विषयगत परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । सामान्य परीक्षाको ५० अंक विषयगत परीक्षामा जोडिने र अब हुने खुला विज्ञापनमा नयाँ पाठ्यक्रम अनुसार प्रश्न सोधिने आयोगले जनाएको छ ।