स्ववियु निर्वाचन निर्धारित समयमा नहुने, नयाँ मिति तोक्नुपर्ने नेविसंघको माग

काठमाण्डौं/२३ माघ– यही फागुन १४ गते त्रिभुवन विश्वविद्यालयले हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन निर्धारित समयमा नहुने लगभग निश्चित भएको छ ।
त्रिभुवन विश्वविद्यालयको स्ववियु नियमावली अनुसार चुनाव हुनुभन्दा एक महिना अगाडिदेखि नै कार्यतालिका सार्वजनिक हुनुपर्ने व्यवस्था छ । तर, त्रिविले अहिलेसम्म चुनावको तालिका सार्वजनिक गरेको छैन । स्ववियु निर्वाचन समितिको अध्यक्ष रेक्टर पद हालसम्म पनि रिक्त भएका कारणले पनि स्ववियु निर्वाचन तोकिएको समयभित्रै नहुने भएको छ ।
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख गंगाबहादुर थापाका अनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निर्वाचनका लागि केही समय मागेकाले स्ववियु चुनावको कार्यतालिका सार्वजनिक नगरिएको जानकारी दिए ।
नेविसंघले आफूहरूको परामर्शविना तोकिएको स्ववियु चुनावको मिति मान्य नहुने भनिएकाले पनि फागुन १४ को मिति लगभग सर्ने भएको छ ।
नेविसंघ अध्यक्ष राजिव ढुंगानाले त्रिवि स्ववियु चुनाव गराउन गम्भीर रूपमा नलागेको भन्दै ‘सबैभन्दा पहिले स्ववियु निर्वाचन समितिको रेक्टर नियुक्त हुनुपर्छ । त्यो रेक्टरसहितको समितिले बैठक बोलाएर नयाँ मिति र तालिका सार्वजनिक गर्नुपर्छ, तर यी सब कुरामा त्रिभुवन विश्वविद्यालय गम्भीर देखिएको छैन,’ उनले भने । उनले त्रिविले सबैको सहमतिमा चुनावको नयाँ मिति तोक्नुपर्ने समेत बताएका छन् ।