काठमाडौं/२१ भदौं-राष्ट्रिय परीक्षा बोर्डमा पुनर्योग गर्नका लागि आवेदन दिने विद्यार्थीको भिड लागेको छ । कक्षा १२ को गत शुक्रबार नतिजा सार्वजनिक गरिएपछि ग्रेडमा चित्त नबुझी पुनर्योगका लागि आवेदन दिने विद्यार्थीको भिड लागेको हो ।
परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए । तर अधिकांश विद्यार्थीहरुले आफुले सोचेको भन्दा कम ग्रेड आएका कारण चित्त नबुझी पुनर्योग गर्न चाहाने परीक्षार्थीहरुको भिड लागेको छ ।
नतिजा अनुसार जीपीए ३.६–४ं.० ल्याउने विद्यार्थी ४ हजार १७९ छन् भने ३.२–३.६ सम्म ल्याउन विद्यार्थी ३० हजार १०७ जना रहेका छन् । त्यस्तै २.८–३.२ ल्याउने विद्यार्थी ६५ हजार २८४ जना, २.४–२.८ ल्याउने ६४ हजार ९३, २.०–२.४ ल्याउने विद्यार्थी १० हजार ९०० रहेका छन् ।
कक्षा १२ को परीक्षाफल प्रकाशन पश्चात आफूले प्राप्त गरेको कुनै विषयको ग्रेड अंकमा चित्त नबुझी पुनर्योग गर्न चाहाने परीक्षार्थीहरुले प्रति विषय ५ सयका दरले दस्तुर बुझाई पुनर्योगका लागि ग्रेडसिट, मार्कसिट वा वेभसाइडबाट डाउनलोड गरी ग्रेडसिट मार्कसिट संलग्न गरी परीक्षाफल प्रकाशन भएको मितिले १५ दिनभित्र (असोज १) राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयहरु वा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमिमा आवेदन दिन सक्नेछन् ।








