काठमाडौं/९ साउन-एमाले सांसद बिद्या भट्टराईले बालविकासमा कार्यरत सहयोगी कार्यकर्ताहरूले न्यूनतम तलब नपाएको बताएकी छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै आर्थिक वर्ष २०७८–७९ मा सरकारले बालविकासमा कार्यरत शिक्षक, कर्मचारी र सहयोगी कार्यकर्ताहरूको मासिक तलब न्यूनतम १५ हजार निर्धारण गरेपनि हालसम्म तलब नपाएको बताएकी हुन् ।
उनले संसदमा आफ्नो भनाइ राख्दै भनिन “प्रारम्भिक बालविकासदेखि ८ कक्षा आधारभूत शिक्षाको अभिन्न अंगका रुपमा राज्यले स्वीकार गरेको छ । मौलिक हक अन्तर्गत रहेको शिक्षा र शिक्षा नीतिले स्पष्ट रुपमा समाविष्ट गरेको आधारभूत शिक्षाको एउटा तह बालविकासको उचित व्यवस्थापन सरकारले हालसम्म पनि गर्न सकिरहेको छैन ।”
त्यसैगरी नियुक्तिको समयमा ९ बजेदेखि २ बजेसम्म काम गर्ने अवधी तोकिएपनि बालबिकासमा कार्यरत सहयोगी शिक्षकहरुले विद्यालय र सामाजिक आवश्यकता अनुसार ९ बजेदेखि ५ बजेसम्म काम गर्नुपर्ने अनिवार्यता रहेको बताइन ।
नियम अनुसार ४ बर्षदेखिका बालबालिका भर्ना हुने भनेपनि उहाँहरुले २ बर्षका बालबालिकाहरूदेखि सेवा दिइराख्नुभएको छ । बालबिकासमा कार्यरत शिक्षक, कर्मचारी र सहयोगी कार्यकर्ताहरु माथि राज्यद्वारा नै अन्यय गरेको बताएकी छन् ।



