सरकारले बेलायत पठाउँदै नर्स

काठमाडौं/१०-मन्त्रिपरिषद्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बेलायतमा नर्स पठाउने गरी श्रम समझदारी गर्न स्वीकृति दिएको छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेपछि मन्त्रिपरिषद् पुगेर प्रस्ताव पारित भएको हो ।


मासिक अधिकतम् ४ लाख रुपैयाँसम्म तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नागरिक पठाउने प्रक्रियाबारे बेलायतसँग समझदारी हुन लागेको हो । श्रम मन्त्रालयले बेलायतमा रोजगारीका लागि प्रारम्भमा २ हजार नर्स पठाउन तयार रहेको बताउँदै आएको छ ।


वैदेशिक रोजगार विभागको क्षमता अभिवृद्धि, छात्रवृत्तिको अवसरका साथै नर्सिङ कलेजहरुको क्षमता अभिवृद्धिमा बेलायत सरकारबाट सहयोगको अपेक्षा समेत गरिएको मन्त्रालयले जनाएको छ ।


स्वीकृत श्रम समझदारीअनुसार रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु पर्ने छैन । जीटूजी (सरकार–सरकारबीचको समझदारी) मोडलमा नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि पठाइने छ ।