काठमाडौं/९ साउन-नयाँ पाठ्यक्रमको लागि बनेको कक्षा ९ र १० को प्रस्तावित विशिष्टीकरण तालिकामा केही कुरा त्रुटीपूर्ण रहेकोले सहमति हुन सकिदैन । केहीकुरा पुरानै अबलम्बन गरीएको छ, नयाँ ग्रिडले भनेपनि पुरानै कुरा पछ्याइएको छ, परीक्षा सञ्चालन विधि, मूल्याङ्कन लगायतमा धेरै त्रुटी देखिएका छन् । त्यसैले नयाँ पाठ्यक्रमको लागि बनेको कक्षा ९ र १० को प्रस्तावित विशिष्टीकरण तालिकामा देखिएका त्रुटीहरुको संक्षिप्त समीक्षा यस्तो छ :
१. प्रश्नपत्र निर्माणमा Bloom’s Toxonomy का ५ तहहरुलाई जोडेर मूलतः ३ तह (ज्ञान–बोध, प्रयोग र उच्च दक्षता) मा समाहित गरिएको देखियो । त्यसरी किन जोडेको हो, त्यसको औचित्य स्पष्ट छैन ।
२. ग्रिडले ब्लूमको परिमार्जित (revised) को सट्टा पुरानै taxonomy अवलम्बन गरेको पाईयो, जस्तै सम्झिनु (remember) को सट्टा ज्ञान (knowledge) शब्दावलीको प्रयोग ।
३. पूर्वीय सभ्यतामा ज्ञान सर्वोच्च शिक्षा हो, ज्ञानी पुण्यात्मा । ब्लूमका अनुसार knowledge सबैभन्दा तल्लो तह । Revised Taxonomy ले यसलाई निराकरण गरेर ज्ञानलाई केवल स्मरण (remember) को रुपमा पुन परिभाषित गरेको छ । तर हाम्रो नयाँ ग्रिडले भने पुरानै पछ्यायो । यसको पनि औचित्य अनुत्तरित छ ।
४. तल्लो तह भनेर ज्ञान, बोध र प्रयोग तथा उच्च तहमा विश्लेषण, मूल्याङ्कन र सिर्जनालाई तोकिएको छ । यी सबै पक्ष योगात्मक परीक्षाले परीक्षण गर्ने सिकाई हैन ।
५. तल्लो तहको प्रयोगात्मक सीप र त्यसको प्रयोग परीक्षा हलमा अक्षर र अंकमा देखाएर परीक्षण गर्न मिल्दैन । सिकाईका यी पक्षहरु निरन्तर र निर्माणात्मक मूल्याङ्कनका अंग हुन् ।
६. माथिल्लो तहको विश्लेषण, मूल्याङ्कन र सिर्जनामा पनि विश्लेषणलाई मात्र लेखन क्षमतामा परीक्षण गर्न सकिने हुन्छ । व्यक्तिको आफ्नो मूल्यांकन, मूल्य, मान्यता, अभिवृत्ति तथा सम्पूर्ण सिकाईको आधारमा गरिने अन्तिम मौलिक सिर्जना वा निर्माण परीक्षा हलमा ५–१० मिनेटमा सोचेर लेखिने सिकाई हैन । यसलाई सिकाई क्रियाकलाप गराउँदा नै वास्तविक समयमा विशिष्टकृत रुब्रिक्स बनाई गरिने निरन्तर र निर्माणात्मक मूल्यांकनकै अंश बनाईनु जरुरी छ ।
७. पाठ्यक्रममा अंग्रेजीको शब्द understanding लाई बोध भनिएको छ जुन आफैंमा त्रुटीपूर्ण र आपत्तिजनक छ । कुनै विचार वा अवधारणाको ब्याख्या गर्न सक्नु बोध हैन । बोध त अन्तर्मनको अनुभव र परमात्मासँगको साक्षात्कार हो । बोधीसत्व हुनु, बोधी हुनु वा बुद्धत्वको मार्गमा प्रवेश गर्नुको अरु कसैको विचारको व्याख्या गर्नुसँग अलिकति पनि नाता छैन । बोधगम्यताको परिभाषा व्याख्या हुनै सक्दैन । हामीले शिक्षामा understanding लाई बोधको नाम किन दियौं, अनुत्तरित छ ।
नोटः व्यावहारिक तथा मौलिक तर्क र संश्लेषनलाई हरदम स्वागत गरिनेछ ।
(सिङ्ग लामा शिक्षाकर्मी तथा एमआई पिबिल प्रवर्तक हुन् ।)