तुलसीपुर/१५ असार-तुलसीपुर मेट्रो कलेजमा कृषि विज्ञान अध्ययन गर्ने प्रतिक्षा डाँगीले असार १५ को छेको पारेर धान रोपाईको मेलो अगाडी सारिरहेकी थिइन् । गाउँघरमा धान रोप्दै आएकी डाँगीले यसपटक भने अलिक भिन्नै अनुभुती गरिन् । ‘आज भने विद्यार्थीको हिसाबले केही सिक्न धान रोपिरहेकी छुँ’ उनले भनिन् ।
अर्की विद्यार्थी सुस्मिता डाँगीलाई पनि रोपाईको मेलो सार्दा रमाईलो अनुभव भएको थियो । कलेजको पोशाकमा हिलाम्य भएकी डाँगी हिलोमा रमाइरहेकी थिइन् । ‘हामी कृषिप्रधान देशमा बस्नेहरुले कृषिलाई सधै माया गर्नुपर्दछ’ उनले भनिन् ।
कलेजमा कृषि विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई असार १५ को महत्वका बारेमा जानकारी दिनका लागि कलेजले धान रोपाई कार्यक्रममा सहकार्य गरेको थियो । तुलसीपुर उपमहानगरपालिका कृषि शाखाको संयोजनमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई असार १५ को महत्वका बारेमा पनि जानकारी गराइएको थियो ।
मानो रोपेर मुरी फलाउने दिनका रुपमा असार १५ को धेरै महत्व हुने गरेको अर्की विद्यार्थी सपना नेपालीले वताईन् । उनले कृषि क्षेत्रमा आधुनिकीकरणको आवश्यकता भएको भन्दै आफुले पढाइसकेर अभियान सञ्चालन गर्ने बताइन् । ‘अहिलेको युग अनुसार हामीले खेतिपाती गर्नुपर्दछ । अब कसरी उब्जनी बढाउन सकिन्छ भन्ने बारेमा सबैले थाहा पाउनु आवश्यक छ ’ उनले भनिन् ।
कलेजमा अध्ययनर ४० जना विद्यार्थीको कार्यक्रममा सहभागिता रहेको थियो । कृषि विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न परियोजनासँग जोड्का लागि असार १५ को रोपाई कार्यक्रम आयोजना गरिएको कृषि विज्ञान प्रशिक्षक कल्पना वलीले बताईन् ।



