धनुषा/१३ असार-धनुषाको औरही गाउँपालिका, झिटकहिया स्थित श्री रामजानकी माध्यामिक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलिएको छ । गत शनिबार विद्यालयमा अभिभावकसँगको छलफलका क्रममा प्रधानाध्यापक मदन महरालाई कालोमोसो दल्नुका साथै र्दुव्यवहार भएको हो ।
विगत १५ महिनादेखि व्यवस्थापन समिति विहिन रहेको विद्यालयमा समिति गठनका लागि असार ११ गते शनिबार छलफलको क्रममा पूर्व व्यावस्थापन समितिका अध्यक्ष सुजित कुमार यादव र गैर अभिभावक रामनाथ यादवले हातपात गर्नका साथै कालोमोसो दलेको प्रधानाध्यापक मदन महराले खबर एजुकेशनलाई बताए ।
उनले पूर्व गाउँपालिका अध्यक्ष प्रेमदेव यादवको योजनामा आफुलाई कालोमोसो दलिएको बताएका छन् । उनले भने “पूर्व गाउँपालिका अध्यक्षको आफ्नो मान्छे सुजित कुमार यादवलाई विद्यालय व्यवस्थापन समितिमा राख्न पटक पटक दबाब दिएको तर छलफलमा अभिभावकले अस्विकार गरे पछि मलाई कालोमोसो दलियो ।”
त्यसैगरी चमार जाति भएकै कारण विगत देखिनै दुर्व्यवहार गर्ने, दलित हो के गर्न सक्छ भन्दै गालीगलौज गर्नुका साथै दलित भएकै कारणले आफु चेपुवामा पारेको समेत आरोप लगाएका छन् ।



